समाजको दृष्टिमा अपाङ्गता-झमक घिमिरे

0
608

 

समाजले मलाई अझै पनि बिचरा अपाङ्ग केटीको रुपमै हेरिरहेको थियो । मैँले गर्ने प्रत्येक क्रियाकलापहरुलाई यो अपाङ्गतासँग जोडेर हेरिन्थ्यो । मान्छे जतिसुकै शिक्षित र सभ्य किन नहुन् तिनका व्यवहार अझै जङ्गली नछन् । खाली समाजभित्र यस्तो परम्परा पनि छ– कोही अपाङ्ग भयो भने उसले पूर्वजन्मको पापले यस्तो भएको हो, यसलाई समाजले देख्यो भने लाज हुन्छ, यसलाई कोठाभित्र कसैले नदेख्ने गरेर थुनेर राख्नुपर्छ भन्ने चलन छ । यसैले उनीहरुको मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको थिएन । यहाँसम्म कि मेरा सिर्जनालाई पनि शरीरसँग जोडिएको अपाङ्गतासँग जोडेर हेर्ने गर्थे । मँैले सिर्जनाहरुमा कसैको पीडा अर्थात् समाजको पीडा लेख्यो भने च्व च्व च्व गर्दै बिचरा जिन्दगी नै यस्तो छ सिर्जनामा पनि त्यही पीडा नै लेखिछे भन्थे हेर्ने मान्छेहरु । तर म आफ्ना व्यक्तिगत पीडा लेखूँ भनेर कहिल्यै लेख्दिनथेँ । कहिलेकाहीँ अन्जानमै पोखिन्थ्यो भने म के जानूँ ?
मँैले कुनै कुरा जानिँन भने बिचरा शरीर नै यस्तो छ के जान्नु भन्थे मान्छेहरु । तर ती मान्छेहरुको भन्दा ठीक विपरीत सोच थियो मेरो । शरीर अपाङ्ग हुँदैमा विचार, विवेक, भावना अपाङ्ग थिएन । जुन कुरा अझै मान्छेहरुले बुझेनन् । आफूलाई मात्र सबै अर्थमा पूर्ण ठाने र आफूलाई मात्र सग्लो देखे । मलाई निरीह, निर्बल देखे । म उनीहरुले देखे, सोचे जति निर्बल, निरीह भने थिइनँ । मैले कुनै कुरा जानिँन भने शरीरको सम्बन्ध थिएन दिमाग त्यससँग जोडिएको बुद्धि तत्वको सम्बन्ध थियो । समाज, संस्कार, संस्कृति, मान्छेहरुले ठीक उल्टो बुझे । मलाई प्रत्येक कुरा आफ्नो शरीरसँग जोडेर हेरेको पटक्कै मन पर्दैनथ्यो । बिचराको दृष्टिकोणले हेरेको पटक्कै मन पर्दैनथ्यो । बिचराको दृष्टिकोणले हेरेको, दयाको भाव राखेको मन पर्दैनथ्यो । म पनि मान्छे नै थिएँ । ममा पनि विचार, भावना, स्वाभिमान सबै थोक थियो । मैँले पाएका पुरस्कार, सम्मान, मान, पदकहरुलाई पनि उनीहरु अपाङ्ग शरीर हेरेर दिए जस्तो कुरा गर्थे र कतिले त मुखै फोरेर भन्थे– “तिमी अपाङ्ग नभएको भए यत्रा मान, सम्मान, पदक, पुरस्कारहरुले सम्मानित तथा पुरस्कृत मरे हुन सक्ने थिइनौ ।” कसैले त रिस समाल्न नसकेर भने रे “अपाङ्ग केटी नाथेले लेख्थी के बढाइचढाइ गरिदिए बस् ।” त्यतिले मात्र नपुगरे कसैले त लेखिदिए– “के अर्को अपाङ्गले निबन्ध, अर्कोले महाकाव्य, खण्डकाव्य, काव्य लेख्यो भने कुनै सपाङ्गले पुरस्कार नपाउने ।” यसो भन्नेहरु सबै अशिक्षित अनपढ थिएनन् सबै शिक्षित, सभ्य भनिनेहरु नै थिए । उनीहरुको विचारमा मसँग कुनै कुरा थिएन, केवल अपाङ्गता र निरीह लाचारपन मात्र थियो । हुन पनि मलाई देख्नेहरुले त्यस्तै देख्थे, केही गर्न नसक्ने तर उनीहरुले जे देख्थे त्यो म थिइनँ, जे भने पनि म थिइनँ तर पनि म मै थिएँ ।
उनीहरुको नजरमा म बेकारकी मान्छे, काम न काजकी मान्छे थिएँ भने मेरो नजरमा उनीहरु शिक्षित, सभ्य भएका महामुर्ख थिए । किनभने मैँले उनीहरुको केही बिगारिदिएकी थिइनँ, किन म प्रति नकारात्मक दृष्टिकोण राखे ?आखिर म पनि मान्छे थिएँ, मैँले पाएको पुरस्कार, मान, सम्मान, पदक जे पाएमा पनि किन दयामिसिएको देख्थे उनीहरु ?हुन त यो संसारमा सबै मान्छे राम्रा हुँदैनन् सबै मान्छे नराम्रा पनि हुँदैनन् । संसारमा नराम्रोको अस्तित्व छ भने राम्रोको पनि अस्तित्व छ । गाउँका बडा भनिने मान्छेहरु पनि अगाडि व्यक्त गर्न नसके पनि घरले मलाई हेय नै पाराले हेर्थे । त्यतिबेला लाग्थ्यो यो संसार त बलिया, शूरवीरहरुको लागि मात्र रहेछ । निर्बल,अशक्तहरुलाई त मान्छे नै नगन्ने । मान्छे थिएँ म, जसको खुसीमा कसैको अनुहारमा मुस्कान देखिएन, जसको उत्साहमा कसैको आङमा घाम लागेन । रिसका ज्वाला, ईष्र्या र डाहका रापहरु फाल्थे मान्छे यसमाथि । खोइ किन हो उनीहरुलाई म राम्रो लागिँन कुरुप लागेँ । तर मलाई माया गर्ने, मलाई सुन्दर देख्ने मान्छेहरु पनि थिए । मेरो हाँसोमा रमाउने पनि कोही त थियो, जो म हाँस्दा हाँस्थ्यो, म रमाउँदा रमाउँथ्यो, म दुःखी हुँदा ऊ दुःखी हुन्थ्यो । त्यसैले त जीवन जस्तो भए पनि सुन्दर थियो ।
मान्छेको जातै ईष्र्यालु हुँदो रहेछ । त्यसले मात्र गर्ने मैँले चाहिँ नगर्ने भन्ने भावना हुँदोरहेछ । मैँले अलिकति प्रगति गरेको देख्दा दुनियाँ रिसाउनु पनि यहीकारण हो त्यसै भनेका होइन रहेछन् कविशिरोमणि लेखनाथ पौडेलले – “म खाऊँ मै लाऊँ, सुख सयल वामोज म गरुँ, म बाचुँ मै नाचुँ, अरु सब मरुन् दुर्बलहरु ।” साँच्चै उनले कति मज्जाले भनि दिएछन् अविवेकी, स्वार्थी मान्छेहरुलाई मलाई साह्रै घत प¥यो । मँैले पनि अलिकति माथि चढ्दैमा मातिनु पनि थिएन । अलिकति तल झर्दैमा आतिनु पनि थिएन । किनभने मैँले न त माथि चढ्नु थियो न त तल झर्नु ? म उस्ताको उस्तै थिएँ, फरक यति थियो म अलि बढी मान्छेहरुले चिन्ने भएकी थिएँ । अलिकति प्रशंसित भएकी थिएँ । मलाई पहिला पहिला लाग्ने गथ्र्यो यही हुनु पनि ठुलो कुरो हो । अदृश्य रुपमा भए पनि ममा त्यसको भोक रहेछ क्यारे । यसो हुनु पनि स्वभाविकै थियो । किनभने समाजबाटै अपहेलित केटीले अलिकति प्रशंसा, अलिकति अरुको जस्तै जिन्दगीको अपेक्षा राख्नु त स्वभाविकै कुरो थियो । मँैले पनि त्यसको अपेक्षा नढाँटी भन्दा केही बढी नै राखेछु क्यारे त्यसैले त मान्छेहरुले थोरै खोट लाउँदा पनि मलाई साह्रो दुख्यो । बिझाउने कुरो गरे पनि साह्रो बिझाउँथ्यो । तर बिनाखोट, विना बिझावटको मान्छे पनि हुँदैनथ्यो । म पनि खोट रहित मान्छे त कहाँ थिएँ र ? मैँले त्यति पनि छुट्टयाउन सकिनँ । अलिकति बढी आक्रोशको भावनाले पो हेरेँ कि अरुलाई ?
उफ् ! मान्छेहरुले सधैँ झुक्नुपर्छ भन्ने सोचाइ राखे, अपाङ्ग, अशक्त मान्छे नै होइनन् भन्ने दृष्टिकोण राखे, म कुनै मान्छेसँग झुकिनँ । आखिर अरुले मान्छे नभने÷नठाने पनि म आपूmलाई मान्छे नै ठान्थेँ जति अरुले कुरुप देखे मैँले आपूmलाई कहिल्यै कुरुप देखिनँ । अन्धविश्वासी समाजले मलाई कहिल्यै सकारात्मक दृष्टिले नहेरे पनि मैँले आपूmलाई सधैँ सकारात्मक दृष्टिले हेरेँ । किनभने मैँले आफ्नो आत्माप्रति अपमान, अन्याय गरेर अरुमाथि न्यायनगर्न सक्दिनथेँ । मान्छेले आफैँमाथि न्याय गर्न सक्दैन भने उसले कसैमाथि पनि न्याय गर्न सक्दैन । मान्छेले जुनसुकै काम कुरा गर्दा सबैभन्दा पहिला आपूmलाई चित्त बुझाउनुपर्छ अनि मात्र अरुको चित्त बुझ्न सक्छ । त्यसैले त मैँले जुनसुकै काम कुरा गर्दा आत्मालाई चित्त नबुझ्ने कहिल्यै गरिँन । समयले एकपछि अर्को पाठ सिकाउँदै जान्छ मान्छेको जीवनलाई । मलाई पनि आफ्नै जीवनले एउटा परीक्षा लिँदै थियो भने अर्को नियतिले आखिर कविवर माधव घिमिरेले भनेको एकदमै ठीक रहेछ –
ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कैल्यै हुँदैन विफल
साँच्चै म ढुङ्गाको काप फोरेर उम्रिएको पीपल त थिइनँ तर पनि यही धरतीमा उम्रिएकी, स्वयम् उनैकी सिर्जना थिएँ । अनि उनको सिर्जना के विफल हुन सक्थ्यो र ?यसो भनेर मैले स्वयम्लाई धरतीको सफल सिर्जना भन्ने आत्मरति गर्न मिल्दैन । यति चाहिँ भन्न सक्छु– “म पनि अरु जस्तै धरतीकै सिर्जना थिएँ ।” सायद मसँग पनि उनले केही अपेक्षा गरेकी थिइन्, जसलाई मान्छेको एउटा जमातले पटक्कै बुझ्न सकेन । उनको कोख र सिर्जना प्रति बारम्बार अपमान गरिरहे, धरती चुपचाप लागेर सहिरहिन्, कुनै गुनासो गरिनन् । सायद उनी पनि चाहन्थिन् क्यारे मँैले आपूmले नै उनको कोख र सिर्जना त्यति निकम्मा हुन सक्दैन भन्ने प्रमाणित गर्न सकुँ । उनी त्यतिबेलासम्म पर्खिरहिन् पर्खिरहिन् जतिबेलासम्म उनको सिर्जना निकम्मा नभएको प्रमाणित भएन । वर्तमानमा उभिएर प्रश्न गर्छु म – जो आपूmलाई पूर्ण देख्छन् – “अपूर्ण म कि तिमीहरु ?अनि समाजको दृष्टि अपाङ्ग कि म ?”( जीवन काँडा कि फूलबाट साभार)

Advertisements

LEAVE A REPLY