काठमाण्डौं

0
973

-दुर्गाप्रसाद पोख्रेल

Advertisements

लाज पचाएर निर्वस्त्र नाचिरहेकी
नगरवधू हो ऊ
घरि आँखा झिम्काउँछे
घरि मुख फर्काउँछे
सबैको निन्दा पनि गुञ्जेको छ
तर पनि सबै किन आकर्षित छन् उप्रति ?

विहान उठेदेखि नसुतिञ्जेल
हजार हजार कटाक्षहरू देखाउँछे ऊ
सिंहदरबार उसको सिंगारपटार घर हो
बालुवाटार उसको स्नानगृह
खुलामञ्च उसको नाटकघर
भद्रकाली उसको हास्यालय
मन्त्रालयहरू उसको जगल्टिएको कपाल
पार्टीका कार्यालयहरू उसको अर्धनग्नता
पशुपतिदेखि स्वयम्भूसम्म ताँतीका ताँती
उसका पारखीहरू
बल्खु, सानेपादेखि चावहिलसम्म लठ्ठिएका उसका प्रेमीहरू
कोही उसको कपाल मनपराउनेहरू
कोही उसका नग्नता हेर्न चाहनेहरू
काठमाण्डौं ती सबैलाई फन्फन्ती घुमाउँछे
रिङ्गरोडको चक्करमा चक्करिएर
चक्रपथको मान्छे धर्मपथमा उभिएर हेर्छ
वानेश्वरको मान्छे कुलेश्वरमा बाटो घेर्छ
दौडिइरहेकी उसलाई कोही चक्काजाम गरेर रोक्छ
अधेंरोंमा हराएकी उसलाई कोही टायर बालेर खोज्छ
कोही झ्याल फोरेर हेर्न चाहन्छ उसलाई
कोही बाटो चोरेर घेर्न चाहन्छ उसलाई
काठमाडौं कत्ति दिक्क छैन
उसलाई थाहा छ
निन्दा गरुन् या माया गरुन्
यी सबै उसैका लठ्ठूहरू हुन्
उसकै वरिपरि घुमिरहन खोज्ने
उसलाई नै आफ्नो बनाउन खोज्ने ।

रात नपरी राम्ररी बोल्दिन काठमाण्डौ
नबोली कसरी बुझ्नु उसको मन ?
संशयमा शय प्रतिशत खुलिदिन्छे ऊ
आज बोलेको कुरा भोलि भुलिदिन्छे ऊ
आफ्ना हल्लिएका नितम्बहरूमा
दरवार देखि घरबार हल्लाइदिन्छे ऊ
असनको गल्लीदेखि बिचल्लीका हल्लीखल्लीसम्म उबिना चल्दैनन्
मान्छेका यावत् भोग लालसाका फलहरू उबिना फल्दैनन्
काठमाण्डौ रोगीको जपना जस्ती
काठमाण्डौ भोगीको सपना जस्ती
नाचेकी छे छम्छमी हरेर सबका मनहरू
उसमै छन् गाँसिएका हेर सबका रहरहरू ।

लाज पचाएर निर्वस्त्र नाचिरहेकी
नगरवधू हो ऊ
राजादेखि रङ्कसम्म सबैकी
मनकी मधु हो ऊ ॥

 

LEAVE A REPLY