उजुरी पर्न थालेपछि,भूकम्पपीडितको नाममा दिइएको अनुदान फिर्ता

0
257

भूकम्पपीडितका नाममा अनुदानलगायत सुविधा उपभोग गरेका परिवारले काभ्रेपलाञ्चोकमा पहिलो किस्ताबापतको रकम फिर्ता दिन थालेका छन्। भूकम्पपीडितको नाममा मौखिक र लिखित उजुरी पर्न थालेपछि जिल्लाको पाँचखाल नगरपालिकाबाट पहिलो पटक एकजनाले पहिलो किस्ताबापतको ५० हजार फिर्ता गरेको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलले जनाएको छ । रकम फिर्ता गर्नेमा पाँचखाल नगरपालिका–९ का परशुराम सेढार्इं छन्। उनले सो रकम पुनःनिर्माण प्राधिकरण कोषमा नै जम्मा गरेका छन्। पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका प्रमुख ध्रुव गैडाले भूकम्पपीडितको नाममा सुविधा लिएकाहरुमा कहाँ र कसरी रकम फर्काउने भन्ने विषयमा अन्योल रहेको र कतिपयले फिर्ता गर्न चाहेको बताए। जिल्लाभरबाट त्यस्ता उजुरी आए पनि सबैभन्दा बढी पाँचखाल क्षेत्रबाट करिब एक सयको हाराहारीमा उजुरी आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सदस्य सचिवसमेत रहेका गैडाले जानकारी दिए। उनले नक्कली भूकम्पपीडितविरुद्ध बेनामी लिखित उजुरी दिनसमेत जनसाधारणलाई आग्रह गरेको जानकारी दिँदै पीडित नभएकाले पनि सुविधा उपभोग गरे कानुनअनुसार असुल गरिने उल्लेख गरे। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत माघ २६ गते एक सूचना प्रकाशन गरी भूकम्पपीडितका नाममा पीडित नभएकाले पनि सुविधा उपभोग गरेको भए फिर्ता गर्न अनुरोध गरेको हो। जिल्ला समन्वय समितिको केही दिनअघि बसेको बैठकले पनि भूकम्पपीडितको नाममा पीडित नभएकाले उपभोग गरेको सुविधा अविलम्ब फिर्ता गर्न जोड दिएको थियो । रासस –

Advertisements

LEAVE A REPLY