स्थानीय तहको निर्वाचनमा १० अर्ब २९ करोड खर्च हुने पूर्वानुमान

0
256

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्दा करिब १० अर्ब २९ करोड खर्च हुने अनुमान गरेको छ । निर्वाचनमा प्रयोग हुने सामाग्रीहरुको खरिद, मतपत्र छपाइ, मतदाता शिक्षाका विभिन्न कार्यक्रम, मतपेटिक खरिद लगायत काममा यो पैसा खर्च हुने आयोगले पूर्वानुमान गरेको हो ।

Advertisements

एक लाख २६ हजार कर्मचारी

यस्तै निर्वाचनमा १ लाख २६ हजार कर्मचारी परिचालन हुने पनि आयोगले पूर्व अनुमान गरेको छ । आयोगले यही आधारमा कर्मचारी व्यवस्था गर्न सरकारलाई पत्र लेखेको छ ।

यो संख्या सुरक्षाकर्मी बाहेकको संख्या हो । ती कर्मचारीहरुलाई आयोगले मतदान केन्द्रमा खटाउने छ । आयोगले मुख्य निर्वाचन अधिकृतको रुपमा ७ सय ४४ कर्मचारी खटाउँदैछ । यस्तै मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिकामा ४२ हजार कर्मचारी खटिने छन् । आयोगले कर्मचारीको खाका तयार गरिसकेको छ । र, बाँकी ८४ हजार कर्मचारीलाई अन्य काममा लगाउने बताएको छ । अन्य कर्मचारीले निर्वाचन समन्वयन, जगेडा, लगायत विभिन्न भूमिकामा रहेर काम गर्नेछन् ।

८४ हजार मतपेटिका

आगामी निर्वाचनमा ८४ हजार मतपेटिका प्रयोग हुने आयोगले अनुमान गरेको छ । देशभर करिब २१ हजार मतदान केन्द्र हुने र ८४ हजार मतपेटिका आवश्यक पर्ने भन्दै आयोगले तयारीको काम अन्तिम अवस्थामा पुर्‍याएको छ । आयोगले स्थानीय तहको निर्वाचनमा अधिकाशं ८० लिटर क्षमताको ठूलो मत पेटिका प्रयोग गर्न लागेको हो ।मतपत्रको आधार सामान्य भन्दा ठूलो हुने भएपछि आयोगले त्यस्तो तयारी गरेको हो । आयोगले अब केही दिनमै मतपेटिकाको व्यवस्था भइसक्ने आयोगले जनाएको छ ।

मतपत्र १ करोड ५४ लाख

आयोगले आगामी निर्वाचनका लागि १ करोड ५४ लाख मतपत्र छाप्दैछ । आयोगमा १ करोड ४० लाख मतदाता दर्ता भएका छन् । आयोगले आवश्यक मतपत्र भन्दा १० प्रतिशत बढी मत छाप्न लागेको हो ।निर्वाचनका क्रममा हुन सक्ने सम्भावित दुर्घटनामा समेत लगत्तै अर्को मतपत्र पुर्‍याउन सक्ने गरी आयोगले जगेडा मतपत्र समेत छाप्न लागेको हो । आयोगले कुनै मतदान केन्द्रको मतपत्र नष्ट भएमा वा प्रयोगमा आउने स्थिति नदेखेमा अतिरिक्त मतपत्रलाई प्रयोगमा ल्याउने छ ।

LEAVE A REPLY