सहिद परिवारलाई कैदीबन्दीबाट २५ हजार सहयोग

0
293

भीमदत्तनगर । दुई साताअघि भारतीय सीमा सुरक्षा बलको गोली लागेर सहादत प्राप्त गर्नुभएका गोविन्द गौतमको परिवारलाई कञ्चनपुर कारागारका कैदीबन्दीले सहयोगस्वरुप २५ हजार प्रदान गरेका छन् ।

Advertisements

कञ्चनपुर कारागारमा आज बिहान पत्रकार सम्मेलन गरी कैदीबन्दीले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका सहिद गौतमको सम्मानस्वरुप परिवारलाई २५ हजार र सोही आक्रमणमा परी घाइते भएका टीकाराम चापागाईंको उपचारका लागि आठ हजार चार सय १४ प्रदान गरेका हुन् ।

कैदीबन्दीका तर्फबाट नाइके टेकराज जोशीले कारागार कार्यालयका प्रमुख श्यामराज भट्टलाई उक्त रकम प्रदान गरेका हुन् । “कैदीबन्दीलाई राज्यले दिएको खानाले पेटसमेत भर्न गाह्रो छ, ”नाइके जोशीले भने, “तर पनि सामाजिक उत्तरदायित्व ठानेर कैदीबन्दीले रकम सङ्कलन गरी हस्तान्तरण गरे । माटो बचाउन लडेका गौतमको सम्मानका लागि हामीहरुले खानाखर्चबाट रकम कटाएर २५ हजार दिएका हौँ । रकमभन्दा पनि कैदीबन्दीले उहाँप्रति सम्मान व्यक्त गरेका हुन् ।”

कञ्चनपुरका कैदीबन्दीले सो घटनामा भारतले माफी माग्नाका साथै उचित क्षतिपूर्ति, सहिद परिवारलाई दिनुपर्ने मागसमेत गरेका छन् । रकम बुझ्दै कारागार कार्यालयका प्रमुख श्यामराज भट्टले उक्त रकम परिवारलाई बुझाउन प्रजिअलाई हस्तान्तरण गरिने बताए । कल्भर्ट निर्माणका विषयलाई लिएर आनन्द बजारमा नेपाली पक्षमाथि गोली चलाउँदा गत फागुन २६ गते गौतमको निधन भएको थियो । रासस

LEAVE A REPLY