उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण ‘असफल’

0
250

उत्तर कोरियाले आज गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

Advertisements

तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको बिकास र प्रबद्र्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो।हाल दक्षिण कोरियामा अमेरिकी र दक्षिण कोरियाली सेनाहरु संयुक्त रुपमा बार्षिक सैनिक अभ्यास सञ्चालन गरिरहेका समय पारी उत्तर कोरियाले आधुनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । दक्षिण कोरियामा भै रहेको बार्षिक सैनिक अभ्यासलाई आफ्नो देशउपर सामरिक आक्रमण गर्ने तयारीका लागि अभ्यास गरेको भन्ने आरोप उत्तर कोरियाले लगाउँदै आएको छ । यस मार्च महिनाको शुरुवात सँगसँगै उत्तर कोरियाले चारवटा शक्तिशाली ब्याल्लेस्टिक क्षेप्यास्त्रहरु जापानको सीमा नजिकैको समुद्रमा प्रहार गरी सफल परीक्षण गरेको थियो । यस परीक्षण पश्चात्, जापान, अमेरिका र दक्षिण कोरियाले सशक्त बिरोध जनाएका थिए ।

दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी बुधवार बिहानै उत्तर कोरियाको पूर्वी सामुद्रिक तटवर्ती नगर उन्साङ्बाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्यास्त्रले केही बेरमै असफल नतिजा देखाएको जानकारी दिएको छ । परीक्षण गरिएको उक्त क्षेप्यास्त्र के कति क्षमता र शक्तियुक्त थियो भन्ने तथ्य तत्काल खुल्न नसके ता पनि यस बारे अनुसन्धान र बिश्लेषण भै रहेको पनि सो मन्त्रालयले बताएको छ ।

यता, उत्तर कोरियाले थप अर्को एउटा शक्तिशाली क्षेप्यास्त्र केही दिनपछि नै परीक्षण गर्ने तयारी गरिरहेको तथा क्षेप्यास्त्रवाहक ट्रकलाई परीक्षणस्थल उन्साङ् ल्याई सकेको र त्यहाँ उत्तर कोरियाली विशिष्ट व्यक्तिहरु बसी अवलोकन गर्ने मञ्चसमेत निर्माण गरिरहेको अमेरिकी सैनिक गुप्तचरले थाहा पाएको जनाइएको छ । अमेरिकाले उत्तर कोरियाको यस्ता गतिबिधिहरुको निगरानी बढाई उच्चतम सतर्कता अपनाइरहेको पनि अमेरिकी प्रतिरक्षा अधिकारीहरुले जनाएका छन् ।

केही दिनअघि आधुनिक र अत्यन्त शक्तिशाली रकेट ईन्जिनको सफल परीक्षण गरी अन्तरीक्ष अनुसन्धानमा सघाउ पु¥याएको भनी उत्तर कोरियाले दाबी गरे ता पनि उक्त परियोजना, शक्तिशाली र अत्याधुनिक ब्याल्लिस्टिक क्षेप्यास्त्र उत्पादन तथा भण्डारणसँगै आवद्ध भएको हातहतियार विज्ञहरुको विश्लेषण रहेको जनाइन्छ । रासस/एपी –

LEAVE A REPLY