संसदीय सुनुवाइ विशेष समितिले १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

0
220

काठमाडौं, चैत ९ गते ।लगातार तिन दिनको सुनुवाइपछि संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । मन्त्रिपरिषद्को फागुन ९ गतेको बैठकले १४ देशका लागि राजदूत सिफारिस गरे पनि प्रस्तावितमध्ये तिन राजदूतको नाम फिर्ता गर्नु पर्ने भन्दै समितिमा उजुरी परेको थियो ।

Advertisements

समितिले अनुमोदन सम्बन्धी पत्र बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।गोरखापत्रमा उल्लेख गरिएको समाचार  अनुसार समितिका सचिव ध्रुवप्रसाद घिमिरेले सुनुवाइपछि प्रस्तावित सबै राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सबै प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको छ । हामी आजै निर्णयको जानकारी सम्बनिधत निकायलाई पठाउँछौं ।’ समितिको अनुमोदनपछि अब सरकारले प्रस्तावित राजदूतको नियुक्ति प्रक्रिया अघि बढाउन सक्नेछ ।

सिफारिसमा परेकामध्ये कतार, ओमन र इजरायलका लागि प्रस्तावित तिन राजदूतविरुद्ध चारवटा उजुरी दर्ता भएका थिए । सरकारले कतारमा रमेश कोइराला, ओमनमा शर्मिला पराजुली ढकाल र इजरायलका लागि निरञ्जन थापालाई राजदूतमा सिफारिस गरेको  थियो । कतारका लागि प्रस्तावित राजदूत कोइरालाविरुद्ध एक उजुरी परेको थियो । सुरक्षित आप्रवासनसम्बन्धी काम गर्ने एक संस्थाले उजुरी दर्ता गरेको थियो । कोइरालाको सम्बन्धित देशमा व्यावसायिक स्वार्थ जोडिएको भन्दै सिफारिस अस्वीकृत गर्न उजुरीमा माग गरिएको थियो ।

ओमनका लागि सिफारिस पराजुलीविरुद्ध दुई वटा उजुरी दर्ता भएका थिए । पराजुलीको व्यावसायिक स्वार्थ जोडिएको आरोप उजुरीमा छ । यस्तै, उहाँका श्रीमान्को नाममा दर्ता रहेको फ्लोरिड ह्युमन रिसोर्सेजसँग मिलेर काम गर्ने गरेकोलगायतका आरोप थिए । यस्तै, इजरायलका लागि सिफारिसमा परेका थापाविरुद्ध एक उजुरी दर्ता भएको थियो ।  मल्लिक आयोगले कारबाही सिफारिस गरेका व्यक्ति भएकाले मर्यादित कूटनीतिक क्षेत्रमा थापाको नियुक्ति उपयुक्त नभएको उजुरीकर्ताको ध्यानाकर्षण थियो । तर, समितिले प्राप्त उजुरीमा उजुरीकर्तासँगको छलफलपछि पदाधिकारीको सुनुवाइमा चित्त बुझाउदै नाम अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्ले म्यानमारका लागि भीम उदास, बंगलादेशमा चोपलाल भुसाल, श्रीलङ्कामा प्रा. डा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियामा अर्जुनजङ्गबहादुर सिंह र कतारमा रमेशप्रसाद कोइरालालाई सिफारिस गरेको थियो । यस्तै, अस्ट्रेलियामा लक्की शेर्पा, डेनमार्कमा युवनाथ लम्साल, साउदी अरेबियामा प्रा. डा. महेन्द्र सिंह, बहराइनमा पदम सुन्दास सिफारिसमा पर्नु भएको थियो । यस्तै जापानमा प्रतिभा राणा, इजरायलमा निरञ्जन थापा र ओमनका लागि शर्मिला पराजुली ढकालको नाम सरकारले सिफारिस गरेको थियो । सिफारिस गरिएका  १४ जनामा  युएईका लागि प्रस्तावित आशा लामा र स्पेनका लागि प्रस्तावित भरत रायमाझीको सुनुवाइ प्रक्रिया भने रोकिएको छ ।

LEAVE A REPLY