भवानी राणाको नौलो इतिहास

0
513

उद्योग वाणिज्य महासंघमा पहिलोपटक महिला नेतृत्व
“५० वर्ष इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व मैँले समाल्न गइरहेको छ । यस्तो जिम्मेवारी काँधमा आउदाँ निकै गम्भीर पनि भएको छु । सबै सदस्य तथा पूर्व अध्यक्षहरुको सल्लाह र सुझाव लिएर काम गर्नेछु, ” –                                                                                                                   अध्यक्ष राणा

Advertisements

-सविता रिजाल

राष्ट्रपति, सभामुख,प्रधानन्यायाधीश पछि नीजी क्षेत्रले पनि आफ्नो ५ दशक लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । नीजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा भवानी राणा अध्यक्ष भएसँगै महासंघमा पनि नयाँ इतिहास कायम भएको छ । राणा महासंघको नेतृत्व गर्ने पहिलो महिला उद्यमी बन्नुभएको छ । यो सँगै शिर्ष स्थानमा पुरुष नै पुग्ने परम्परामा ब्रेक लागेको छ ।
संयोग नै मान्नुपर्छ यसअघि राष्ट्रपति, सभामुख र प्रधानन्यायधीश पनि महिला भएका थिएनन् । विद्यादेवी भण्डारी राष्ट्रपति, ओनसरी घर्ती सभामुख, सुशीला कार्की प्रधानन्यायाधीश र राणा आआफ्नो क्षेत्रमा नेतृत्वमा पुग्ने पहिलो महिला बनेका छन् । इतिहास रच्दै अध्यक्ष भएपछि राणाले पदभार ग्रहण गर्दै भन्नुभयो, “५० वर्ष इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व मैले समाल्न गइरहेको छ । यस्तो जिम्मेवारी काँधमा आउँदा निकै गम्भीर पनि भएको छु । सबै सदस्य तथा पूर्व अध्यक्षहरुको सल्लाह र सुझाव लिएर काम गर्नेछु ।” महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार राणा सर्वसम्मत अध्यक्ष बन्नुभएको हो । अर्कोपटकका लागि हुने अध्यक्ष अर्थात् वरिष्ठ उपाध्यक्षमा पनि राणा प्यानकै शेखर गोल्छा निर्वाचित हुनुभएको छ ।
सबैले आर्थिक समृद्धि भनिरहेको सन्दर्भमा महासंघले सरकारसँग मिलेर समृद्धिको नेतृत्व गर्ने र त्यसको लागि अफूले सदैव पहल गर्ने उहाँको भनाइ छ । महासंघले विगतदेखि आर्थिक विकास, समृद्धि र रोजगारी सिर्जनामा नेतृत्वदायी भूमिका खेल्दै आएको र त्यसैले यसको गरिमा उच्च रहेको भन्दै राणाले निवर्तमान अध्यक्षले सुरु गरेका कार्यलाई निरन्तरता दिइने बताउनुभयो । “मँैले पनि महासंघको गरिमालाई अझै उच्च बनाउनको लागि विशेष कार्ययोजना बनाएको छु र तिनको इमान्दारितापूर्वक कार्यान्वयन गर्नेछु ” उहाँले भन्नुभयो । स्मार्ट सिटीदेखि व्यवस्थित सहरी यातायात संचालनको लागि सरकारसँग सहकार्य गर्न महासंघले पहल गर्ने योजना उहाँले अघि सार्नुभएको छ । राणाले पदभार ग्रहण गरे लगत्तै आफ्ना २१ योजनाहरु समेत सार्वजनिक गर्नुभएको छ । उहाँले अघि सारेका योजनामा नेपाल भारतबीचको व्यापार विस्तार गर्ने देखि पूर्वाधार विकास, स्वदेशी वस्तु उत्पादन प्रवद्र्धनदेखि युवाहरु रोजगारीका लागि विदेशीने क्रम रोक्नेसम्मका योजना छन् । आर्थीक क्षेत्रका जानकारहरु राणाका लागि गरेर देखाउने अवसर भएको बताउँछन् । यो अवसरलाई उहाँले कत्तिको उपयोग गर्न सक्नुहुन्छ त्यसैमा उहाँको आगामी यात्रा र महासंघको भावी दिशा तय हुनेछ । एसोसिएटका १९ सदस्यको लागि भएको निर्वाचनमा सबै सदस्य गोल्छा समर्थित सदस्यहरु नै बिजयी भएका छन् भने उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल सर्वसम्मत निर्वाचित हुनुभयो । कूल ६८ जनाको कार्यसमिति रहेको महासंघमा गोल्छा प्यानलको दुईतिहाई बहुमतमा रहेको छ । कार्यसमितिबाट निर्वाचित हुने कोषाध्यक्षमा पनि गोल्छा प्यानलबाट ज्ञानेन्द्रलाल प्रधान हुनुहुन्छ । मतदानमा कूल ८ सय २३ भोट खसेको थियो ।
निर्वाचित हुनेमा अध्यक्षमा राणा, वरिष्ठ उपाध्यक्ष गोल्छा, एसोसिएटतर्फ ढकाल , ओम राजभण्डारी , ज्ञानेन्द्रलाल प्रधान , अशोक कुमार तोदी , प्रबलजंग पाण्डे , गोपाल खनाल , सौरभ ज्योति ,भरतराज आचार्य , विजयसिंह वैद्य, मंगलेश्वर श्रेष्ठ , आनन्द कुमार बगरिया, साहिल अग्रवाल, रन्जितराज आचार्य , सुनिलनारायण श्रेष्ठ , अशोक कुमार टेमनी, राजेश कुमार अग्रवाल, रामशरण थपलिया, ज्योत्सना श्रेष्ठ , कृष्ण दुलाल , मनिस अग्रवाल रहेका छन् ।
जिल्लानगरतर्फ प्रमोद श्रेष्ठ, उमेश डालमिया, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ , मनिशलाल श्रेष्ठ, कृष्णप्रसाद शर्मा, दिपक लम्साल, कृष्ण श्रेष्ठ, ध्रुवराज श्रेष्ठ भारी , दिलसुन्दर श्रेठ, निरक केसी , किशोर कुमार आचार्य, सुरेन्द्र कुमार श्रेष्ठ ,चन्द्रकान्त अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ , राजकुमार न्यौपाने ,कल्यान जोशी, देव कुमार श्रेष्ठ र सुदर्शन कार्की निर्वाचित भएका छन् । वस्तुगततर्फ उमेशलाल श्रेष्ठ , अञ्जन श्रेष्ठ, सन्दिपकुमार अग्रवाल, प्रकाशसिंह कार्की , सकुन्तलाल हिराचन, शिवप्रसाद घिमिरे, आकाश अधिकारी, विनोद ढकाल , तिलचन्द्र भट्टराई, कमला श्रेष्ठ , जयप्रकाश सिवाकोटी, सुरेन्द्रकुमार श्रेष्ठ,हेमराज ढकाल ,खेमराज पन्त ,नरेशलाल श्रेष्ठ ,रविनकुमार श्रेष्ठ, सुनिलगोपाल श्रेष्ठ छन् । प्रदेशतर्फ गणेश प्रसाद लाठ, भिम बहादुर थापा निर्विरोध भए भने रोहित प्रसाई ,कमलकृष्ण श्रेष्ठ , लंकमान रोका ,प्रकाश थापा निर्वाचित भए । संस्थापकतर्फ अबिनास बोहरा , द्विराष्ट्र र अजय मुडभरी छन् ।

भवानीका २१ योजनामा के छन् ?

१. पहिलो चरणमा यसअघिका अध्यक्ष तथा कार्यसमितिले अगाडि बढाएका योजनाहरुलाई निरन्तरता दिने ।
२. देशलाई निर्माण गर्ने युवाहरु दैनिक देश वाहिर गइरहेको अवस्थामा उनीहरुलाई यहिँ राख्न विभिन्न काम गर्ने। उनीहरुलाई प्राविधिक तालिम दिनका लागि देशका सातै वटा प्रदेशमा सरकार तथा विदेशी निकायहरुसँग मिलेर टेक्निकल स्कुलहरु खोल्ने ।
३. महासंघमा विज्ञ समूहको गठन गर्ने र त्यो समूहको सुझावमा कार्ययोजना अगाडि बढाउने ।
४. नेपाल भारतबीचको व्यापारलाई थप विस्तार गर्ने, सीमा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने, जसमा भारतीय राजदुतावासको सहयोग लिने ।
५. देशमा विभिन्न क्षेत्रमा पूर्वाधारको विकास गर्नका लागि सार्वजनिक नीजि साझेदारी (पिपिपी) मोडेल अपनाउने ।
६. देशको अस्थिर राजनीतिक अवस्थालाई कम गर्न सवै राजनीतिक दललाई एकै टेवुलमा राखेर देश विकास गर्ने शंकल्प प्रस्ताव बनाउने ।
७. स्वदेशी बस्तु र उत्पादनलाई प्रोत्साहन र प्रवद्धन गर्ने ।
८. जिल्ला तथा नगर वाणिज्य संघहरुलाई देश प्रादेशीक अवधारणामा गएको अवस्थामा शसक्तिकरण गर्ने ।
९. कच्चा पदार्थको मूल्य अभिवृद्धि गर्ने र बस्तुको गुणस्तर बढाएर भ्यालु एड गर्ने ।
१०. जलविद्युत क्षेत्रको निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने ।
११. यसअघि महासंघले लिएको भूउपयोग नीतिलाई अगाडि लैजाने ।
१२. देशका प्रमुख सात शहरहरुमा शहरी विकास मन्त्रालयसँग मिलेर स्मार्ट सिटीको घोषणा गर्ने। त्यसको सुरुवात काठमाडौंबाट गर्ने ।
१३. सरकार र नीजि क्षेत्रका बीच देखिएको कर विवादलाई समाधान गर्ने ।
१४. महासंघ केद्रीय कार्यालयमा रिसर्च एण्ड डेभलपमेन्ट विङको स्थापना गर्ने। यसवाट उत्पादनमुलक तथा सेवामुलक उद्योगको स्थापना तथा सञ्चालनका लागि सहयोग गर्ने ।
१५. देशका मुख्य सहरहरुमा देखिएको मास ट्रान्सपोर्टेसनलाई व्यवस्थित तरिकाले अगाडि बढाउन सहयोग गर्ने र त्यसमा पिपिपी मोडेलमा अगाडि बढाउने ।
१६. नेपाल राष्ट्र बैङ्कको सहयोगमा विभिन्न परियोजनाहरुमा निश्चित प्रतिशत लगानी गर्नका लागि नीतिगत व्यवस्था तयार गर्ने ।
१७. पूँजीगत खर्च बढाउन निर्माण सामाग्री नपाउने अवस्थाको अन्त्य तथा विकासमा सहकार्य गर्ने ।
१८. दिगो पर्यटन विकास तथा सूचना प्रविधिको विकासमा कामहरु गर्ने ।
१९. महिला उद्यमशीलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने ।
२०. महासंघभित्र देखिएको अस्तव्यस्त प्रशासनलाई चुस्त दुरुस्त बनाउने ।
२१. अन्तर्राष्ट्रिय सम्वन्धलाई बढाउने महत्वपूर्ण पहलकदमी लिने ।

LEAVE A REPLY