व्याजदरबारे बैंकहरुबीच खिचातानी

0
288

काठमाडौ, २६ फागुन — बैंकहरुबीच निक्षेपको व्याजदरको विषयमा खिचातानी सुरु भएको छ । नेपाल बैंकर्स संघले व्याजदर तोक्ने र केही बैंकले नमान्ने घोषणा गरेपछि खिचातानी सुरु भएको हो । वित्तीय प्रणालीमा तरलता अभावको समस्या बढ्दै गएपछि बैंकहरुबीच यस्तो समस्या देखिएको हो ।

Advertisements

संघले करिब एक महिनाअघि मुद्धती निक्षेपको व्याजदर ११ प्रतिशत र गतसाता साधारण बचतको ब्याजदर ८ प्रतिशत भित्र राख्नुपर्ने ‘भद्र सहमति’ बैंकहरुबीच गरेको थियो । तर, एनआइसी एसियाले बिहीबारदेखि लागू हुने गरी साधारण बचतको व्याजदर १० प्रतिशत र मुद्धती निक्षेपको व्याजदर १२ प्रतिशत पुर्‍याएको छ ।

यो विषयमा आपत्ति जनाउँदै संघको शुक्रबार बसेको बैठकले एनआइसी एसिया बैंकसँग कुनै पनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको छ । यी विवाद सार्वजनिक भएपछि बजारलाई स्वतन्त्र राख्न नदिई वित्तीय क्षेत्रमा ‘कार्टेलिङ’सुरु भएको टिप्पणी विज्ञहरुले गरेका छन् ।

‘सहमतिविपरीत ब्याजदर बढाउन थालेपछि संघले एनआईसी बैंकसँग अन्तरबैंकिङ कारोबार नगर्ने निर्णय गरेको हो,’ संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘सो बैंकको कार्यले समग्र बैंक तथा वित्तीय संस्थामा प्रणालीगत जोखिम ल्याउने सम्भावना देखिएकाले यस्तो निर्णय गरेका हौं ।’ संघले आफ्नो अधिकारभित्र रहेर निर्णय गरेको उनको दाबी छ । ‘आफ्नो सदस्य बैंकसँग अन्तरबैंकिङ कारोबार नगर्ने निर्णय संघले गर्न पाउँछ, त्यही गरेको हो,’उनले भने ।

एनआईसी एसिया बैंकले संघको निर्णयले कुनै असर नपर्ने जनाएको छ । संघले बैंकिङ प्रणालीमा ‘सिन्डकेट’ लागू गर्न खोजेको र आफूहरुलाई मान्य नभएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

‘बजार माग आपूर्तिका आधारमा ब्याजदर निर्धारण गर्ने अर्थशास्त्रको सामान्य सिद्धान्त हो,’ उनले भने, ‘हामीले पनि त्यही गरेका हौं, यो निर्णयले वित्तीय प्रणालीमा कुनै नराम्रो असर नपर्ने र बरु उपभोक्तालाई धेरै फाइदा हुन्छ ।’ ब्याजदरमा सीमा तोक्ने अधिकार संघलाई नभएको जनाउँदै उनले भने, ‘आज पनि हामी संघकै सदस्य छौं, यसको अर्थ संघका सबै प्रकारका निर्णय मान्नै पर्छ भन्ने हुँदैन ।’संघको निर्णयले सर्वसाधारण र समग्र वित्तीय क्षेत्रको हितविपरीत भएमा त्यो आफूहरुलाई मान्य नहुने उनले बताए । आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY