पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने सभापति देउवाको तयारी

0
275

काठमाडौं, ९ वैशाख – कांग्रेस केन्द्रीय कार्यसमितिको समिक्षा बैठक आजदेखि पुनः सुरु हुने भएको छ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Advertisements

बैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नुका कारण समिक्षा जारी रहनेछ । समिक्षा बैठकमा अहिलेसम्म ४२ केन्द्रीय सदस्यले धारणा राखिसकेका र आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले महासमितिको बैठक बोलाउने र विधान संशोधन समिति बनाउनेबारे पनि निर्णय गर्नेछ ।

यसैबीच, छिटो पदाधिकारी मनोनीत गर्न दबाब परेपछि सभापति शेरबहादुर देउवाले बैठकबाटै पदाधिकारी टुंगो लगाउने तयारी गर्नुभएको छ । केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि सभापति देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने सम्भावना छ ।

कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ । २ महिनाभित्र पार्टी सभापतिले पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि देउवाले २ वर्ष गुज्रिनै लाग्दासमेत गर्नसक्नु भएको छैन । नेतृत्वको सुस्त कार्यशैलीको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला देउवाले मनोनयनको तयारी गर्नुभएको हो ।

निर्वाचन समीक्षा र समसामयिक राजनीतिबारे धारणा तय गर्न गत चैत ९ गतेबाट कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको थियो । बैठककै क्रममा चैत १६ गते पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएपछि बैठक स्थगित गरिएको थियो । त्यही स्थगित बैठक शुक्रबार बस्ने भनिए पनि अधिकांश केन्द्रीय सदस्यहरु काठमाडौं बाहिर भएको भन्दै आजलाई सारिएको थियो ।

LEAVE A REPLY