पुराना व्यवसायीको पनि मयूरमा आबद्ध हुने इच्छा

0
354

१० वैशाख, काठमाडौं । पछिल्लो समय चर्चामा छ, मयूर यातायात प्रालि । ठूला बस ल्याएर सेवा थालेको यो कम्पनीमा लगानी गर्न देश-विदेशबाट प्रस्ताव आउन थालेका छन् । पुराना यातायात व्यवसायीले पनि यातायात समिति छोड्न तयार भएको भन्दै मयूरमा आबद्ध हुन इच्छा व्यक्त गरेका छन् ।अरनिको राजमार्गको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेको मयूर यातायातमा लगानी गर्न अन्य क्षेत्रका व्यवसायीसहित गैरआवासीय नेपालीहरुले पनि प्रस्ताव राखेका छन् ।

Advertisements

कम्पनीले भने कसरी अघि बढ्ने भनेर ठोस निर्णय गरेको छैन । समितिहरु कम्पनीविरुद्ध आन्दोलनमै रहेकाले परिस्थिति हेरेर लगानीका प्रस्तावमाथि छलफल गर्ने तयारीमा छ, मयूर ।कम्पनीमा लगानीका लागि दैनिक ठूलो संख्यामा लगानीकर्ताले आफूहरुसँग परामर्श गरिहरहेको मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । सडकको सिन्डिकेट समाप्त गर्ने गरी सरकारले कदम चालेपछ विभिन्न क्षेत्रका यातायात समितिहरुले पनि मयूरसँग कम्पनी दर्ताका लागि परामर्श गरेका हुन् ।

अध्यक्ष श्रेष्ठ देश-विदेशबाट कम्पनीका लगानी गर्न इच्छुकहरुले दैनिक सम्पर्क गरिरहेको बताउँछन् । उनले लगानी जुटाएर मयूरलाई दक्षिण एसिया कै उत्कृष्ट सार्वजनिक सवारी सेवा प्रदायक कम्पनी बनाउने दावी गरे ।

‘हामी अहिले सीमित शहरी रुटमा मात्रै छौं । तर, हामी यहीँ रोकिने गरी अएका हैनौं,’ श्रेष्ठले भने,’नयाँ बसहरु थप्दै देशभरका रुटहरुमा आफूहरुको बस पुग्ग्छौं । हामी धेरै ढिलाइ गर्दैनौं ।’

२४ वटा बस चक्रपथबाट पनौती र धुलिखेल गुडाइरहेको यो कम्पनीले तत्कालै २३ वटा बसमार्फत थानकोटसम्म सेवा विस्तार गर्न लागेको छ ।

चक्रपथमा मात्रै चल्ने गरी ५० वटा बस पनि ल्याउन लागिएको छ । थप बसहरु पनि ल्याउन उसले प्रक्रिया थालेको छ । अध्यक्ष श्रेष्ठले केही वर्षभित्र काठमाडौंका रुटहरु ‘मयूरमय’ हुने दावी गरे ।

‘हामी ठूला बसमार्फत मात्र सेवा दिने भन्दैमा यात्रुको सुविधामा सम्झौता गर्दैनौ । सविधासम्पन्न बस नै ल्याउने हो । वाइफाइ, एसी लगायतका सुविधा पनि दिने हो,’ उनले भने ।

मयूरले अहिले बालबालिका, ज्येष्ठ नागरिक र ट्राफिक प्रहरीलाई निःशुल्क यात्रा गराइरहेको छ । आमा बच्चा सिटको आरक्षण पनि राखेर उसले बालमैत्री यात्रुलाई प्रबर्द्धन गरिहरेको छ ।

‘हामी ठूलो टिम छौं । यातायात क्षेत्रमा राजनीति गर्न आएको हैन । सेवा दिन आएका हैनौं,’ श्रेष्ठले भने,’सानो योजना लिएर आएका पनि हैनौं । केही समयपछि मयूरका बस देशभर देख्न पाइनेछ ।’

अध्यक्ष श्रेष्ठले अझै पनि समितिहरुले आफ्नो दादागिरी कायमै राखेको बताए । आइतबार मयूर बसका एक चालक कुटिएका छन् ।

काभ्रे प्रहरीले कुटपिटका आरोपमा पक्राउ परेका काभ्रे मिनीबास यातायात समिति आवद्ध बसका सहचालहरुमाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।

‘सर्वसाधारणले नै कुटपिट गर्नेहरुलाई समातेर प्रहरीलाई बुझाउनु भएको हो । हामीलाई ठूलो पब्लिक सर्पोट छ,’ उनले भने,’त्यसैले पनि हामीमा आत्मविश्वास छ कि हामीलाई कुनै क्षेत्रमा प्रतिस्पर्धा गर्न गाह्रो पर्ने छौ ।’

उनले अब पनि पुरानै ढर्रामा सार्वजनिक यातायात चलाउनु आम जनतामाथिको बेइमानी र अपराध मात्रै हुने बताए । त्यसैले नेपालमा बदनाम भएको सार्वजनिक यातायात सेवालाई सुधार गर्न अब मयूरले नै नेतृत्व गर्ने बताए ।

‘सरकारले तोकेकोभन्दा स्तरीय सेवा दिने सोचका साथ मयूर आएको हो । दुबईको सार्वजनिक यातायात हेरेर बनेको योजना हो,’ श्रेष्ठले भने,’दुबईमै बनेको योजना यहाँ लिएर आएका हौं । केही समय पर्खिनुस्, हामी के-के गर्छौं देख्न पाउनुहुन्छ ।’

उनले सरकारले बनाएको नियम र तोकेको सीमाभित्रै बसेर सेवा प्रदान गर्ने बताए । उनले कम्पनीका नाममा फेरि अर्को सिन्डिकेट खडा हुन नदिन सरकारले योजना र बलियो कानुन बनाउनुपर्ने बताए । अनलाइन खबर बाट साभार

LEAVE A REPLY