‘कृषि क्षेत्रमा प्रविधिको प्रयोग गर्दै उत्पादन बढाउनु पर्ने’

0
208

चितवन, पुष ३० । निर्वाहमुखी रुपमा सञ्चालन हुँदै आएको कृषि क्षेत्रमा प्रविधिको प्रयोग गर्दै उत्पादन बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । १२औँ चितवन महोत्सव अन्तर्गत सोमबार नारायणगढमा आयोजना गरिएको कृषि प्रविधिमा नयाँ प्रयोग सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले पुरानो तरिकाले गरिएको कृषिले आत्मनिर्भर हुन पनि गाह्रो बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका ईश्वरीप्रसाद कडरियाले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउन नयाँ प्रयोग आवश्यक रहेको बताए ।

Advertisements

सरकारले जारी गरेको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने भनेर घोषणा गरिएको भएपनि यसका लागि कुनै रणनीतिहरु बनाउने काम नभएको कडरियाले बताए । कृषिको उत्पादन दोब्बर बनाउनका लागि उपयुक्त भू–उपयोग नीति, जमिनको वर्गिकरण गर्नुपर्ने उल्लेख गर्दै कडरियाले जमिनको खण्डिकरण रोक्नुपर्नेमा जोड दिए । सबै प्रकारको जमिनको अध्ययन हुनपर्ने उल्लेख गर्दै कडरियाले नेपाली श्रम विदेश जाँदा सरकारको नीति तथा कार्यक्रममा चुनौती थपिएको बताए । उत्पादनको क्षेत्रमा प्रदेश नम्बर ३ मा चितवन अगाडि रहेको कडरियाले बताए । यद्यपि चितवनको भन्दा भक्तपुरको उत्पादकत्व बढी रहेको कडरियाको भनाइ छ ।

भक्तपुरमा पाँच टन प्रतिहेक्टर धान उत्पादन हुँदा चितवनमा तीन टन मात्रै उत्पादन हुने गरको कडरियाले बताए । सो कार्यक्रममा शिखर इन्स्योरेन्सका अरुण आचार्यले ‘कृषि विमा, आवश्यकता र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । आचार्यले ठूला साना सबै किसानले आफ्नो कृषि उत्पादन तथा पशुपंक्षीजन्य उत्पादनमा विमा गर्नुपर्नेमा जोड दिए । चितवनमा पछिल्लो समय केरा किसानहरुको विमातर्फ आकर्षण बढेको केरा उत्पादक संघ चितवनका निवर्तमान अध्यक्ष यज्ञराज पन्तले बताए ।

पन्तका अनुसार गत वर्ष चितवनमा २२ करोड रुपैयाँ बराबरको केरामा विमा गरिएकोमा एक सय ४५ जना किसानले क्षतिपूर्ति स्वरुप साढे सात करोड रुपैयाँ प्रिमियम पाएका छन् । जिल्लामा ६ सय ३५ जना केरा किसानले दुई हजार आठ सय बिघाहा क्षेत्रमा केरा लगाएका छन् । यस वर्ष चितवनमा दुई सय ८० जना किसानले नौ सय १० बिघाहा क्षेत्रमा लगाएको करिब ३० करोड रुपैयाँ बराबरको केराको मात्रै विमा गरेका छन् ।

कार्यक्रममा पोल्ट्री उद्यमी डाक्टर होमबहादुर बस्नेतले ‘पोल्ट्रीमा लगानी’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । पोल्ट्रीका लागि चितवन उर्वर भूमि रहेको बस्नेतले बताए । नेपालमा उत्पादन हुने पोल्ट्रीजन्य उत्पादनमा चितवनले आधा हिस्सा ओगटेको भएपनि दाना बाहिरबाट मगाउनुपर्ने बाध्यताले किसानहरु मर्कामा परेका बस्नेतको भनाइ छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा अन्तरक्रिया भएको थियो ।

LEAVE A REPLY