चितवन महोत्सवको छैठौँ दिन : ४० हजार दर्शक

0
271

चितवन पुष ३० । नारायणगढको नारायणी नदी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको १२औँ चितवन महोत्सवमा दर्शकहरुको सहभागिता उत्साहजनक रुपमा रहेको छ । महोत्सवको छैठौँ दिन सोमबार ४० हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल संयोजक सहनलाल प्रधानले जानकारी दिए । सोमबारको दिनमा भरतपुर आसपासका बजारहरु बन्द हुने भएकाले पनि दर्शकहरुको संख्या बढेको प्रधानले बताए ।

Advertisements

मंगलबार माघे सङ्क्रान्ति समेत भएकाले अन्यत्रका जिल्लाबाट देवघाट मेला भर्न आउने व्यक्तिहरु समेत महोत्सव अवलोकन गर्न आउने भएकाले ५० हजार भन्दा बढी दर्शक आउने आयोजकको अपेक्षा छ । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा प्रत्येक दुई÷दुई वर्षमा आयोजना हुँदै आएको महोत्सवमा पछिल्लो वर्षहरुमा दर्शकहरुको सहभागिता बढ्दै गइरहेको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम, फन पार्क, कृत्रिम चिडिया घर, जलयात्रामा दर्शकहरुको सहभागिता उल्लेखनीय देखिन्थ्यो ।

उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा नारायणी नदी किनारमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा यस पटक ५ सय ७० वटा स्टल रहेका छन् । महोत्सवमा मेड इन नेपाल परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसरको छुट्टै आकर्षण रहेको छ । महोत्सव परिसरमा आदिवासी जनजातिको पहिचान झल्कने नमुना घरहरु बनाइएका छन् ।

यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएका छन् । करिव पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवमा करिब २५ करोडको रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

LEAVE A REPLY