वाइड बडि घोटालामा सक्कली प्रतिवेदन गायव !

0
258

काठमाडौँ माघ ०१ । वाइड बडि विमान घोटाला प्रकरणमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नाम पनि वाइड बडि घोटालामा मुछिएपछि शीर्ष नेताहरुबीच आरोप प्रत्यारोप सुरु भएको हो । यसले नेपाली राजनीतिमा थप नयाँ तरंग पैदा गरेको छ । 

वाइड बडि प्रकरणमा बिना आधार आफ्नो नाम मुछिएको भन्दै आक्रोशित भएका देउवाले उल्टै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नाम विमान घोटालामा जोडेका छन् । उनले विमान खरिदबारे सबै निर्णय ओली प्रधानमन्त्री भएका बेला भएको दाबी गरेका छन् ।

Advertisements

यता छानबिनका लागि गठित लेखा समितिले बुझाएको सक्कली प्रतिवेदन गायव पारेर दोषी उक्काउन खोजेको खुलासा भएको छ ।
केही साता अघि संसद बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले वाइड बडि विमान खरिदमा ठूलो घोटाला भएको भन्दै त्यसबारे स्पष्ट छानबिन गरी दोषीलाई कारबाही नगरे आफ्नो पार्टीले नछोड्ने चेतावनी दिएका थिए ।

प्रमुख प्रतिपक्षी दलका सभापतिले संसद बैठकमा यस्तो चेतावनी दिएको केही दिनमा वाइड बडि घोटालाबारे छानबिन गर्न गठित लेखा समितिको उपसमितिले बहालबाला पर्यटनमन्त्री सहित दुई पूर्वमन्त्रीसमेतलाई दोषी रहेको भन्दै कारवाहीका लागि सिफारिस गरेको थियो ।
तर सरकारले उक्त सिफारिसमा बदनियत देखिएको भन्दै अर्काे छानबिन समिति गठन गरेको छ । उक्त समितिले आफ्नो काम गरिरहेका बेला सञ्चार माध्यमहरुमा वाइड बडि खरिदमा कांग्रेस सभापति देउवा पनि संलग्न रहेको भन्दै समाचार बाहिर आयो । त्यसपछि सत्तारुढ दलका सांसदले देउवाको संलग्नताबारे पनि छानबिन गर्न संसदमै प्रश्न उठाए ।

वाइड बडि घोटालाको छानविन नभए आफ्नो पार्टीले नछोड्ने चेतावनी दिएका कांग्रेस सभापति देउवातिर नै अहिले घोटालाको आरोप तेर्सिएपछि उनी आक्राशित बनेका छन् । विना आधार आफ्नो नाम मुछेर अन्याय गरिएको बताउँदै देउवाले वाइड बडि खरिदका सबै निर्णयहरु ओली र प्रचण्डको सरकार भएका बेला भएकोले उनीहरु नै दोषी हुने जिकिर गरेका छन् ।

यसअघि बहालबाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित दुईजना पूर्वमन्त्रीको नाम विमान घोटाला प्रकरणमा मुछिएको थियो । त्यसलगत्तै केही सञ्चार माध्यमहरुमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि उक्त घोटालामा संलग्न रहेको खबर प्रकाशन भएको हो । यसलाई देउवाले आफूविरुद्धको सरकारी षड्यन्त्र भनेका छन् ।

यस्तै वाइड बडि विमान घोटाला प्रकरणबारे गरिएको छानबिनको सक्कली प्रतिवेदन गायव पारिएको खाुलासा भएको छ । लेखा समितिका सभापति भरत शाहले नै सक्कली प्रतिवेदन गायब गरेको आरोप लागेको हो । आफूहरुले तयार पारेको प्रतिवेदन लुकाएर नक्कली प्रतिवेदन तयार पारिएको वाइड बडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य समेत रहेका संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले बताए ।

केही समयअघि सार्वजनिक लेखा समितिले वाइडबडीमा भएको भ्रष्टाचारबारे बहालवाला मन्त्रीसहित दुई पूर्व मन्त्रीलाई दोषी ठहर गरेको निर्णयले बजार तातेको थियो । तर अहिले बहालवाला मन्त्री रवीन्द्र अधिकारीलाई जोगाउन सत्तापक्षले भरपूर शक्ति उपयोग गरिरहेको आरोप लागेको छ । यहि बीचमा शीर्ष नेताहरुको नाम समेत जोडिएपछि अब वाइड बडी घोटालाका दोषीहरुलाई कारवाही हुनेमा ढुक्क रहने अवस्था देखिएको छैन । नेपाली रेडियो नेटवर्कमा समाचार छ ।

LEAVE A REPLY