माघेसङ्क्रान्ति र देवघाट !

0
329

चितवन ०१ माघ । नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल चितवनको देवघाटधामको माघे सङ्क्रान्ति मेलामा भक्तजनको रातिदेखि नै घुइँचो लागेको छ । मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने क्रम आज बिहान ४ बजेदेखि नै शुरु भएको हो । देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेको छ ।

Advertisements

हिजो आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर आज बिहान ४ बजेदेखि नै गंगामा नुहाइ पूजाआजामा सक्रिय छन् । परापूर्वकालदेखि नै देवघाटमा यो समयमा विशेष मेला लाग्दै आएको छ । आज दिनभर नै यहाँ मेला लाग्छ । नेपालकै महत्वपूर्ण धार्मिक तीर्थस्थलको गन्तव्य मानिने देवघाट भारतका हिन्दूको समेत मुख्य तीर्थस्थल बन्ने गरेको छ ।

आजको दिन देवघाट सहित त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महीनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
“सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण पनि उत्तम हुन्छ,” उहाँले भन्नुभयो । उत्तरायणका पनि माघ र वैशाख महीना उत्तम मानिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । कर्म गर्नका लागि माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय मानिएको समितिले जनाएको छ । तराईवासीले पनि माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महीनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्वसमेत पर्दछ ।

आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्म्सिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

LEAVE A REPLY