खिचरा महोत्सवमा सिडियो र एसपी सहित एकैदिन ६० हजारले गरे अवलोकन

0
218

चितवन, माघ १ । पूर्वी चितवनको खैरहनीमा जारी छैठौं संस्करणको खिचरा महोत्सवमा आज (मंगलबार) दर्शकको भीड लागेको छ ।

Advertisements

थारु समुदायको खिचरा पर्व (माघी) आज भएकोले पनि दर्शकहरुको अत्याधिक भिड लागेको थियो । आज एकै दिन ६० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेको महोत्सवका मुल संयोजक चुडामणी चौधरीले जानकारी दिए । महोत्सवमा विहानैदेखि ओइरिएका दर्शकहरु साँझ अबेरसम्म मनोरञ्जन लिएका थिए । आज महोत्सवमा चर्चित कलाकारहरु थारु गायक मनोज महतो, चर्चित कलाकार निश्चल बस्नेतको प्रस्तुतीले दर्शकहरु झुमेका थिए । करिव सवा ४ बजे व्याण्डका साथ स्टेज उक्लिएका निश्चलले आधा दर्जन भन्दा बढि गीत गाउँदै दर्शक झुमाएका थिए । उनले खुद्राखुद्री माया, मत पिरिममा परे, कुटुमा कुटु, काले दाईलगायत चर्चित गीत गाउँदै दर्शक उफारेका थिए । करिव एक घण्टाको प्रस्तुतीमा निश्चललाई गायिका मुस्कान रानाभाटले साथ दिएकी थिइन् ।

दर्शकको अर्को प्रतिक्षा बनेकी चर्चित गायिका आस्था राउत साँझ ६ बजे स्टेज चढ्दै दर्शकलाई थकाई मार्न पनि दिएनन् । उनले चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा…लगायतका आधा दर्जन भन्दा बढि गीतहरु गाउँदै दर्शक झुमाएकी थिइन् ।

यस्तै दिउँसो नेपाल आइडलबाट चर्चामा आएकी सन्ध्या बुढा (काउली बुढी)ले पनि दर्शकहरुलाई हसाएकी थिइन् ।

यस्तै साँस्कृतिक कार्यक्रम अन्तरगत आज थारु साँस्कृतिक नृत्यहरु, पर्सा डान्स सेन्टरको नृत्य, रोहित र शुभले क्रियशन गरेको पहिरनको फेशन शो गरिएको थियो ।

महोत्सव अन्तरगत भोलि (बुधबार) चर्चित गायिका अन्जु पन्त, चितवने गायक सुरेश लामाको मूख्य प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए । यस्तै साँस्कृतिक कार्यक्रम अन्तरगत आस्था कला केन्द्रको नृत्य, थारु साँस्कृतिक नृत्यहरु समेत रहेको छ ।

पुस २८ गतेदेखि सुरु भएको महोत्सव माघ ७ गतेसम्म चल्नेछ । थारु समुदायको महान् चाड खिचरा (माघी) पर्वको अवसरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले खिचरा महोत्सव आयोजना गरेको हो । महोत्सवमा मिनि थारु गाउँको साथै विभिन्न व्यापारिक स्टलहरु, बाल उद्यानलगायतका आकर्षणहरु रहेका छन् ।

खिचरा महोत्सवमा सिडियो र एसपीले गरे अवलोकन, थारु खानाको लिए स्वाद
चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेत र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठोरले पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव आज अवलोकन गरेका छन् । 

उनीहरुले महोत्सव परिसरमा राखिएका सबै स्टलहरुको अवलोकन गरी थारु खानाका स्वाद समेत लिएका छन् । उनीहरुले खिचरा पर्वमा थारु समुदायले विशेष परिकारको रुपमा खाने चिचरको पोका, घोंङ्गीलगायतका थारु खानाका परिकारहरुको स्वाद लिएका छन् । प्रजिअ बस्नेतले थारु मिनि गाउँमा रहेको थारु जातिका परम्परागत लोपोन्मुख सामग्रीहरुलाई विशेष चासो दिएर हेरेका थिए ।

मिनि संग्रहालयमा थारु जातिका सीपको प्रयोगबाट बनाइएको परम्परागत घरेलु सामग्री राखिएको छ । संग्रहालयमा मोरी, घौका, कोइनी, डेली, डुहुरी, धेवरीं, झाँझाँ, कहुला लगायत सयौं किसिमका सामग्रीहरु प्रदर्शन गरिएको छ ।

पुस २८ देखि शुरु भएको खिचरा महोत्सवको चौथो दिन आज महोत्सवमा उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो । आज एकैदिनमा करीब ६० हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएका छन् । महोत्सव माघ ७ सम्म चल्नेछ ।

LEAVE A REPLY