पोल्ट्रीमा एक खर्बको लगानी

0
246

चितवन, २ माघ । नेपालको पोल्ट्री क्षेत्रमा मात्रै एक खर्बको लगानी पुगेको छ । केही दशकदेखि यो उद्योग फस्टाउन थालेपछि अहिले एक खर्बको लगानी पुगेको उद्यमीहरुले बताएका छन् ।
पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री क्षेत्रमा अहिले नेपालमा एक अर्बको लगानी पुगेको बताए । उनले भने ‘लगानी बृद्धि भएर एक खर्व पुगेको छ, उत्पादन ८ अर्ब पुग्यो तर पनि राज्यले यो क्षेत्रको समस्याको विषयमा ध्यान दिन सकेको छैन ।’ उनका अनुसार पोल्ट्री क्षेत्रले १८ लाख जनालाई रोजगारी दिएको छ ।
प्रतिव्यक्ति आयमा पोल्ट्रीको महत्वपूर्ण योगदान रहेको उद्यमीहरुले बताएका छन् । यती धेरै लगानी भएको यो क्षेत्रका लागि चाहिले आवश्यक कच्चा पदार्थहरु भने विदेशबाट आयात गर्ने गरेको छ । पोल्ट्री क्षेत्रमा कुखुराको लागि दाना बनाउन चाहिले कच्चा सामग्री भारतबाट आयात हुने गरेको विज्ञहरुले बताएका छन् । दानाको लागि चाहिने मकै र भटमास मात्रै नेपालमा हरके वर्ष ३७ अर्बको आयात हुने गरेको छ ।
यो परिणामको अधिकाँस खपत दाना बनाउन प्रयोग हुने पोल्ट्री विज्ञ डाक्टर तिलचन्द्र भट्टराइले बताए । उनले भने नेपालमा आयात हुने मकै र भटमासको धेरै प्रयोग दानाको लागि हुन्छ । खानको लागि थोरै प्रयोग भएपनि कुखुरा, गाइभैसी, अन्य जनावरको लागि दाना बनाउननै यसको प्रयोग हुने गरेको उनको भनाइ छ ।
अर्का पोल्ट्री विज्ञ तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका उपकुलपति प्राध्यापक डाक्टर इश्वरीप्रसाद ढकालले भने ‘नेपालमा वार्षिक भटमास २१ अर्र्ब रुपैया र मकै १६ अर्ब रुपैयाको आयात हुने गरेको छ, कुखुराको दानाको लागि मकै भटमास प्रमुख कच्चा सामग्री हो ।’
मासुको लागि ब्रोइलर र अण्डाको लागि लेयर्स कुखुरा पाल्न दाना प्रमुख आहार हो । त्यही दाना बनाउन मकै र भटमास आवश्यकता पर्दछ प्रा.डा ढकालले भने ‘मकै र भटमास विदेशबाट नेपालमा नल्याउने हो भने कुखुरा व्यवसाय गर्न सकिदैन, उत्पादन यही गरे अबौ रुपैया बाहिर जानबाट बच्ने थियो ।’ उत्पादनलाई हामीले वृद्धि नगर्ने हो भने भविश्य भयावह हुने उनको भनाइ छ । मकै र भटमासको लागि नेपालको भूमि उपयुक्त भएको कृषि विज्ञहरुको भनाइ छ ।
नेपालमा वार्षिक २१ लाख टन मकै उत्पादन हुँदै आएको राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र रामपुरका संयोजक डा. केशवबाबु कोइरालाले जानकारी दिए । यहाँको उत्पादनले खानलाई पुग्दैन, अझै पनि ६५ प्रतिशत मकै बाहिरबाट आयात भइरहेको छ । संयोजक कोइरालाले भने ‘मकै उत्पादनमा अहिले पनि कृषकहरु पुरानै प्रबिधिमा केन्द्रित हुदा बृद्धि गर्न सकिएको छैन ।’ कुखुराको दाना बनाउन मकैको प्रयोग व्यापक हुदा माग अझ बढेको छ । उनी भन्छन् ‘उत्पादन बढाउन हाइब्रिड मकैको बीउ उत्पादन गर्ने प्राइभेट कम्पनी थपिएर किसानलाई प्रोत्साहन दिए मात्र सहज हुन्छ ।’ कार्यालयका अनुसार नेपालमा ७ हाइब्रिड मैकैको बीउ उत्पादन गर्ने कम्पनी छ ।’ नेपालमा ८ लाख ७१ हजार हेक्टर क्षेत्रमा मकै लगाउने गरिएको छ ।
पोल्ट्री क्षेत्रलाई चितवनले निर्देशन गर्ने भएकाले यहाँका व्यक्तिनै कच्चा सामग्री उत्पादनको अभियानमा सक्रिय हुनु पर्ने विज्ञहरुको भनाइ छ । विज्ञ प्रा.डा ढकालले भने ‘नेपालमा २१ हजार ९ सय ५६ फर्महरु छन् भने चितवनमा मात्रै दुइहजार कुखुरा फर्म छन ।’ ढकालका अनुसार विश्वमा वार्षिक २२ अर्व कुखुरा उत्पादन हुने गरेको छ । नेपालमा भने ८ करोड ३३ लाख निस्कन्छन् । प्रतिव्यक्ति ३ वटा कुखुरा पुग्ने तथ्याङकले देखाउछ ।
पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भने २०४५ साल अगाडि १६ प्रतिशत हामीले उत्पादन गर्ने गरेका थियौ अहिले ५ प्रतिशत मात्रै छ । अण्डा र कुखुराको मासुमा हामी आत्मनिर्भर भएको भनी रहदा कुखुरा पाल्ने दानाको लागि विदेशबाट कच्चा सामग्री ल्याउन बाध्य छौ विष्टले भने ।
उत्पादनमा हामीले बृद्धि गर्न नसके कुखुरा व्यवसायमा लगानी धेरै हुन गइ उत्पादित सामग्री उपभोक्ताले महंगोमा खरिद गर्नु पर्ने हुन्छ । मकै र भटमास मात्रै माग अनुसार यहीको उत्पादनले पुग्ने हो भने आर्थिक अवस्था मजबुद हुन समस्या नहुने बिष्ट बताउछन् । २५ वर्ष अगाडि चितवनमा ब्रोइलर कुखुरा भित्राउदा मलाई पागल भयो भन्नेहरु अहिले यही क्षेत्रमा लागेर कमाउन थालेका छन् विष्टले भने । यस क्षेत्रमा भित्रिएको प्रविधिलाई ल्याउन सके अझै लगानी कम भएर आम्दानी धेरै हुन सक्ने विज्ञहरुको भनाइ छ ।

Advertisements

LEAVE A REPLY