राष्ट्रिय हित र आवश्यकतामा वैदेशिक लगानी

0
219

काठमाडौँ, ३ माघ । सरकारले राष्ट्रिय आवश्यकता र हितलाई केन्द्रमा राखेर वैदेशिक लगानी भित्र्याउने नीति लिएको छ । ‘लगानी गर्नेको मात्रै हित हेरेर राष्ट्रिय आवश्यकता र चाहनालाई नजर अन्दान गर्न सकिदैन’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “नेपालको आवश्यकता र चाहनालाई सम्बोधन हुने गरी वैदेशिक लगानी भित्र्याउन लागेको छ ।”

Advertisements

रु २५ अर्बभन्दा बढीका लगानीलाई एकै स्थानबाट सहजीकरण गर्ने लक्ष्यका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै संयोजन गर्न लागेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “एकै स्थानबाट वन वातावरण तथा उद्योग मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य होस् र सहज रुपमा लगानी भित्र्याउने वातावरण बनोस् भनेर सरकार लागेको छ ।”

प्रक्रियागत झन्झट हटाएर लगानीको वातावरण बनाउन सरकार लागिपरेको भन्दै उहाँले विद्यमान कानूनी प्रबन्धमै रहेर पनि वैदेशिक लगानी भित्र्याउन सकिने बताउनुभयो । सरकारले लगानीको वातावरणलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ आगामी चैत १५ र १६ गते लगानी सम्मेलनको आयोजना गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चीन सरकारले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ अवधारणाका लागि ऊर्जा, कृषि प्रविधिसँग सम्बन्धित आयोजनामा लगानीका लागि आग्रह गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्रीको पछिल्लो चीन भ्रमणका क्रममा सहयोगका विविध क्षेत्रसँग छलफल भएको उल्लेख गर्दै उहाँले ऋण, अनुदान तथा सरल व्याजदरमा ऋण लिने गरी तीन वटा ढाँचासमेत तय भएको मन्त्री बाँस्कोटाले उल्लेख गर्नुभयो ।

लोकतान्त्रिक आन्दोलनका नेतृत्वको सम्मानमा प्रतिवद्ध

मन्त्री बाँस्कोटाले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेका नेतृत्वको सम्मानमा कुनै पनि तलमाथि गर्ने सोचमा सरकार नरहेको स्पष्ट पार्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल र सुशील कोइरालाको नाममा स्थापना गर्न लागिएको अस्पताल खारेजीको प्रक्रिया शुरु गरेको भन्दै आपत्ति जनाएको थियो ।

“लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएका व्यक्तित्वलाई चीरकालसम्म सम्झाउने लक्ष्यका साथ स्थापना गरिने संस्थाको प्रवद्र्धनमा सरकार लागेको छ”–मन्त्री बाँस्कोटाले भन्नुभयो, “वनको बाघले खानुभन्दा मनको बाघले खाए जस्तो भयो । सरकारको त्यस्तो कुनै मनसाय छैन ।” ‘मनगढन्ते’ कुराको पछाडि नलाग्नसमेत मन्त्री बाँस्कोटाले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । रासस

LEAVE A REPLY