विषाक्त खानाले क्यान्सर बढ्यो, अर्गानिक खेती गर्नुस् : कृषि मन्त्री लामा

0
236

चितवन, ०३ माघ । तीन नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले हामीले दैनिक सेवन गर्ने खानाका कारण क्यान्सर जस्तो रोग लाग्ने गरेको बताउनुभएको छ ।

Advertisements

किसानहरुले बढी उत्पादन गर्ने लोभमा विषादी प्रयोग गरेर उत्पादन गरेको दैनिक उपभोग्य वस्तुका कारण पछिल्लो समय क्यान्सरका बिरामीहरु बढ्दै गएका लामाले बताउनुभयो । चितवनमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको कृषि प्रदर्शनीको आज समापन गर्दै मन्त्री लामाले मानवस्वास्थ्यका लागि अर्गानिक तरकारी उत्पादन तर्फ किसानहरुले ध्यान दिनुपर्ने बताउनुभयो । सामुहिक रुपमा व्यवस्थित गर्दै अर्गानिक तरकारी खेती गर्ने र उद्योगहरु सञ्चालन गर्ने अभियानमा सहभागी हुन मन्त्रीले सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक सहनलाल प्रधानले चितवन महोत्सवमा दर्शकहरुको राम्रो उपस्थिति रहेको बताउनुभयो । आजसम्म करिब साढे चार लाख दर्शकले महोत्सव अवलोकन गरेका उल्लेख गर्दै प्रधानले महोत्सवमा २५ करोड रुपैयाँको कारोबार हुने बताउनुभयो । पुष २५ देखि सुरु भएको महोत्सव भोलि शुक्रबार समापन गरिदैछ ।

LEAVE A REPLY