समाज रुपान्तरणमा सञ्चारमाध्यमको भूमिका उल्लेखनीय

0
227

रुपन्देही, ५ माघ । समाज रुपान्तरण र सशक्तीकरणमा सञ्चारमाध्यमले उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गरिएको छ ।

Advertisements

महिलाले सञ्चालन गरेको सामुदायिक रेडियो मुक्तिको दशौँ साधारण सभाका अवसरमा आज बुटवलमा आयोजित कार्यक्रममा उनीहरुले सञ्चारमाध्यमले नागरिकलाई सुसूचित गरेका कारण समाज परिवर्तनको बाटोमा अगाडि बढेको बताए ।

कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपानले सञ्चामाध्यमले पछाडि पारिएको वर्गको पक्षमा आवाज उठाएका कारण समाज रुपान्तरणको दिशामा अगाडि बढेको बताउनुभयो । “मिडियामा आएका समाचार सबै सत्य त हुँदैनन् तर अधिकांश मिडियाले जनतालाई सुसूचित गर्ने काम गरेका छन्,” उहाँले भन्नुभयो, “अब समाजमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि पत्रकारले निष्पक्षरुपमा कलम चलाउनुपर्छ ।” सञ्चारमाध्यमका कारण समाजमा निर्भीक रुपमा बाँच्न पाउने अवस्था सृजना भएको उहाँको भनाइ थियो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउन स्थानीय तहले छलफल शुरु गरेको बताउँदै सबै ऐननियम आफँै बनाएर काम गर्नुपरेकाले केही ढिलाइ भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश ५ का उपाध्यक्ष तथा राससका प्रदेश प्रमुख भरत केसीले संस्था सबल बनाउन आर्थिक पारदर्शिता र संस्थागत सुशासनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यमको स्तरवृद्धिका लागि प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

रेडियो मुक्तिका कार्यवाहक अध्यक्ष दीपु पोखरेलले सञ्चारमा महिलाको पहँुच बढाउने उद्देश्यले रेडियोको शुरुआत भएको बताउनुभयो । महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित रेडियो मुक्तिले ‘महिला हिंसा न्यूनीकरण र सशक्तीकरणका लागि सचेत नारी, सचेत परिवार, हरेक क्षेत्रमा समान अधिकार’ भन्ने नारासहित २०६५ असोज १७ गतेदेखि बुटवलबाट प्रसारण शुरु गरेको थियो । संस्थामा २० संस्थापक सदस्य तथा ११८ जना सदस्य रहेको सचिब कल्पना तिवारीले जानकारी दिनुभयो ।

साधारण सभाका अवसरमा उत्कृष्ट कर्मचारी सम्मानबाट बजार ब्यवस्थापक सुशीला पोखरेललाई रु पाँच हजारसहित सम्मन पत्रले सम्मान गरिएको थियो । रासस

LEAVE A REPLY