बालबालिकालाई महीनामा दुईपटक पोषणयुक्त भोजन

0
429

काठमाडौँ, ५ माघ । न्यून आय भएका विपन्न वर्गका बालबालिकालाई पोषणयुक्त खाना खुवाउने उद्देश्यले महीनाको दुई पटक पौष्टिक भोजन दिने कार्यक्रमको शुरुआत गरिएको छ ।

Advertisements

ललितपुर महानगरपालिका–२ मा रहेको सृष्टि महिला समूहले आज राम मन्दिरमा आयोजना गरेको कार्यक्रममा भोजन वितरण शुरु गर्दै उपप्रमुख गीता सत्यालले पोषणको अभावमा बालबालिकामा स्वास्थ्य एवं मानसिक समस्या देखिने गरेको बताउनुभयो । समस्या समाधानका लागि उच्चवर्गले निम्नवर्गकालाई सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वसांसद मदनबहादुर अमात्यले राज्यले गर्न नसकेको काम गरेर महिला समूहले उदाहरणीय काम गरेको बताउनुभयो । समूहले एक वर्षसम्म महीनाको पहिलो र तेस्रो शनिबार राममन्दिरमा ४० जना बालबालिकालाई पोषणयुक्त भोजन खुवाउने जनाइएको छ ।

कार्यक्रममा वडाध्यक्ष राजेश महर्जन, समूहकी अध्यक्ष पारु डङ्गोल राउतलगायतले महीनामा दुई पटक भोजनका साथै आमाबाबुलाई सन्तुलित रुपमा खाना खुवाउन सिकाइने जानकारी दिनुभयो । जापानको सन्तान कम्पनीको सहयोगमा समूहले महीनामा दुई पटक भोजन गराउने जनाइएको छ ।

कम्पनीका नेपाल प्रतिनिधि दाइसुके कियामाले भूकम्प अति प्रभावित सिन्धुपाल्चोक र काभे्रपलाञ्चोक जिल्लामा आर्थिक सामाजिक पुनस्र्थापनाका क्रममा ‘वासवी’ नामको उत्पादन लगाउने प्रविधि सिकाउन लागिएको जानकारी दिनुभयो । तरकारीका रुपमा प्रयोग हुने ‘वासवी’ नेपालको हावापानीमा राम्रो उत्पादन हुने अध्ययनबाट प्रमाणित भइसकेको जानकारी पनि उहाँले दिनुभयो ।

महानगर क्षेत्रमै उत्कृष्ट काम गर्ने महिला समूहका रुपमा सूचीकृत भएको समूहले स्वरोजगारका लागि सीपलगायत सामाजिक काम गर्दै आएको जनाइएको छ । रासस

LEAVE A REPLY