चितवनमा सुरु भयो कृषि सम्बन्धी अन्तर्राष्ट्रिय प्रर्दशनी

0
183

चितवन,माघ ११ । चितवनमा कृषि, पोल्ट्री तथा डेरी सम्बन्धी अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु भएको छ । प्रदर्शनी केन्द्रमा सुरु मेलाको प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लामाले नेपालको कृषि क्षेत्रलाई यान्त्रीकरणमा लैजान प्रदर्शनीबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेकै व्यापार घाटमा देश संचालन हुन नसक्ने भन्दै उहाँले उत्पादनलाई बढाउन यन्त्रीकरणको प्रयोग आवश्यक रहेको बताउनुभयो । कृषिमा यन्त्रिकरणको प्रयोग गरेर सामुहिक खेतीतर्फ जान आवश्यक रहेको उहाँको भनाई छ ।

Advertisements

‘कृषिलाई उत्पादनमूखी र व्यवसायिकीकरण बनाउन सामुहिक खेती आवश्यक छ, मन्त्री लामाले भन्नुभयो’, सामुहिक खेती गर्ने किसानलाई प्रदेश सरकारले सहयोग गर्छ ।’ उहाँले हिजोका दिनमा निर्वाहमुखी रहेको खेती प्रणाली अब व्यवसायीक बन्नुपर्नेमा जोड दिनुभयो । सामुहिक खेती प्रणाली शुरु गरेपछि आम मानिसमा हुने जग्गाको लोभ र बाँझो रहने समस्या अन्त्य हुने उहाँको भनाई छ ।
१३ गते सम्म चल्ने प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न १८ देशका कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहेका छन् । एक लाख भन्दा बढी अवलोकनकर्ताको अपेक्षा गरेको आयोजकले प्रदर्शनीको अवलोकनमा जाने कृषकहरुलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेवाली, सिंचाई, डेरी सञ्चालन मात्र नभई कृषिका नविनतम औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिने जनाएको छ ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् भारतको आयोजनामा सुरु प्रर्दशनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका साथै अखिल नेपाल किसान महासंघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि।, नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका संस्थाले सहकार्य गरेका छन् । यसअघि काठमाण्डौंमा हुँदै आएको प्रर्दशनी पहिलो पटक काठमाडौं बाहिर चितवनमा आयोजना गरिएको हो ।

प्रर्दशनीको उद्घाटन समारोहमा नेकपाका जिल्ला नेता यम बहादुर परियार,नेपाली काँग्रेसका जिल्ला सचिव उत्तम जोशी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान,नेपाल कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष खेम पाठकले बोल्नुभएको थियो । कार्यक्रममा नेपाल पोल्ट्री महासंघका केन्द्रिय अध्यक्ष गुणचन्द्र विष्टको अध्यक्षतामा भएको थियो । रासस

LEAVE A REPLY