युएईविरुद्ध नेपाल १४५ रनले विजयी, सिरिज एक–एकको बराबरीमा

0
218

काठमाडौं, माघ १२ । युएईविरुद्धको दोस्रो एक दिवसीय खेलमा १४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । यो जितसंगै नेपाल तीन एकदिवसीय सिरिज एक–एक बराबरी बनाएको छ ।

Advertisements

नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको युएई ९७ रनमै समेटिन पुग्यो । युएइलाई सस्तैमा समेट्न सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिए । युएइका लागि मुहम्मद उसमानले सर्वाधिक २६, असफक अहमदले २०, मोहम्मद नाभिदले १९, सिपि रिजवानले १६ रन बनाउनु बाहेक अन्य व्याट्सम्यान दोहोरो अंक जोड्न सकेनन् ।

युएइको इनिङलाई ध्वस्त बनाउन सोमपाल र सन्दीपको बलिङ घातक बन्यो । सन्दीपले एकै ओभरमा युएइका तीन व्याट्सम्यानलाई आउट बनाएका थिए । सन्दीपले आफ्नो चौथो ओभरमा थप एक विकेट लिएका थिए । यस्तै सोमपालले इनिङको पहिलो ओभरमै चिराग सुरीलाई आउट पार्दै युएइलाई दवाबमा पारेका थिए । उनले लगातार आफ्नो ओभरमा विकेट लिएपछि युएइ २९ रनमै ४ विकेट गुमाउन पुगे । त्यसपछि युएइको इनिङ सन्दीप लामिछानेले ध्वस्त पारे ।

नेपालले आज सुधारिएको व्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४२ रन जोड्न सक्यो । नेपालका लागि रोहित कुमार पौडेलले ५५ रनको अर्धशतकिय पारी खेले । ५८ बल खेलेका रोहितले ७ चौका प्रहार गरे । यस्तै ओपनर ज्ञानेन्द्र मल्ले चार चौकाको मद्धतमा ४४ रन बनाए । यस्तै आरिफ शेखले २९, पारस खड्का र विनोद भण्डारी समान २१ रन, करन केसीले १८, दीपेन्द्र सिंह ऐरीले १०, पवन सराफ ८, सोमपाल कामी २ रनमा आउट भए । यस्तै सन्दीप लामिछानेले अविजित १४ र ललित नारायण राजवंशीले ३ रनको अवजित पारी खेले ।

नेपालका ओपनर ज्ञानेन्द्र र विनोदले आज ६१ रनको साझेदारी गरे । लामो समयपछि नेपालले आज अर्धशतकिय ओपनिङ साझेदारी गरेको हो । यस्तै युएइका लागि अमिर हायत र इमरान हैदरले समान ३/३ विकेट लिए भने मोहम्मद नाभिद, जाहुर खान, असफक अहमदले समान एक/एक विकेट लिए । नेपाल सिरिजको पहिलो खेलमा युएइसंग ३ विकेटले पराजित गरेको थियो । नेपालले सिरिजको अन्तिम एकदिवसीय खेल पर्सी (सोमबार) खेल्नेछ । सो खेलमा विजयी हुने टिमले ऋंखला कब्जा गर्नेछ ।

LEAVE A REPLY