तरकारीको मूल्य नपाएपछि चितवनका किसानले खेतमै डोजर लगाए

0
223

चितवन,माघ १२ । बजार मूल्यभन्दा पन्ध्र गुणा कम मूल्यमा पनि विचौलिया दलालहरुले लगाएको तरकारी नउठाएपछि पूर्वी चितवनका एक तरकारी किसानले आफ्नो तरकारी वारीमा डोजर लगाएका छन् । खैरहनी नगरपालिका वडा नं ६ तुलसीपुरका किसान पुरन महतोले तरकारीको मुल्य नपाएको भन्दै खेतमै डोजर लगाएर तरकारी नष्ट गरे । उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयामा किनिरहेको मुला र ३० रुपैया प्रतिकेजीमा किनिरहेको बन्दालाई बिचौलिया ब्यापारीले प्रतिकेजी दुई रुपैयामा पनि नलगेपछि महतोले खेतमै डोजर लगाए ।

Advertisements

‘लगानी र मेहनत नै नउठेपछि डोजर लगाएँ’ महतोले भने ‘व्यापारीले आफु खुसी तोकेको मुल्यमा दिनुभन्दा नष्ट गर्न उचित लाग्यो । बरु सित्तैमा लैजाउ भन्दा पनि मानेन् ।’महतोले अर्काको जग्गा भाडामा लिएर तरकारी लगाएका थिए । मल, बीउ, सिंचाई, औषधि र श्रमशक्ति खर्च गरेर उत्पादन गरेको तरकारी सित्तैमा लैजाउ भन्दा पनि व्यापारी लैजान नमानेको महतोको भनाई छ ।

किसान महतोले १६ कठ्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलामा डोजर लगाएका हुन । उनले १० लाख बरावरको घाटा भएको बताए । ‘ट्याक्टरले जोत्यो भनेपनि अर्को तरकारीमा किरा लाग्ने सम्भावना हुन्छ’ उनले भने ‘त्यही भएर डोजर लगाएर बन्दा र मुला नष्ट गरेको हुँ ।’ २६ कठ्ठा क्षेत्रफलमा उत्पादन गरेको बन्दा र मुलाको मूल्य नपाउँदा अहिलेसम्म करिब १५ लाख रुपैयाँ नोक्सान भएको महतोेको भनाई छ ।

महतोको अझै १० कठ्ठामा लगाएको बन्दा तयारी अबस्थामा छ । उनी अझै पनि तरकारीको भाउ आउनेमा आशावादी छन् । अब १० दिनसम्म पनि बन्दा र मुलाको भाउ आएन भने बाँकी १० कठ्ठामा पनि डोजर लगाएर तरकारी नष्ट गर्ने योजना उनले बनाएका छन् ।

महतोले खेतमा बन्दा,काउली,भेन्टा,केराउ, खुर्सानी, आलु र राजमा लगाएका छन् । सबै तरकारीहरु बजार पठाउने बेला भइसकेको छ । उनले अब बोडी,करेला र घिरौला लगाउने योजना रहेका छन् । ‘हामीले उत्पादन गरेको तरकारी व्यापारी बिचौलियाले लिनै मान्दैनन्’ महतोले भने ‘तरकारीको आयात बढदै गएका कारण हाम्रो उत्पादनले बजार नपाएको होला ।’ अहिलेसम्म यस्तो अबस्था नआएको महतोले दुखेसो छ । नारायणी अनलाइनमा समाचार छ ।

LEAVE A REPLY