पारसको एन्जियोप्लास्टी,अवस्था अझै चिन्ताजनक

0
294

१४ माघ, काठमाडौं । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको छ । एन्जियोप्लास्टीमार्फत मुटुको भल्व खोल्न सफल भएपछि डाक्टरहरु आशावादी बनेका छन् ।

Advertisements

हृदयघात भएपछि पारस अस्पताल भर्ना भएका थिए । आफ्ना एक भतिजसँग दिउसो साढे चार बजे अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो । एन्जियोप्लास्टीपछि आईसीयूबाट सीसीयूमा सारिएको नर्भिकका मिडिया कोअर्डिनेटर आरपी मैनालीले बताए ।

‘एन्जियोप्लास्टिक गरेर स्टेन प्रत्यारोपण गर्न डाक्टरहरु सफल हुनुभएको छ, यद्यपि उहाँलाई खतरामुक्त भइसकेको भन्न मिल्दैन,’ उनले भने । पारस अहिले होसमै रहेको पनि मैनालीले जानकारी दिएका छन् ।

पारस आजै दिउसो ललितपुरस्थित शिव पार्वती मन्दिरमा पुजा गर्न पुगेका थिए । त्यहाँ उनलाई भेटेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले त्यतिबेला पारस सामान्य अवस्थामा रहेको जानकारी दिए ।

उनले भने, ‘हिजो राति पनि उहाँमा छातिको समस्या देखिएको रहेछ । तर, आज मैले भेट्दा सामान्य अवस्थामा हुनुहुन्थ्यो । छुट्टिएको केही बेरपछि नै अस्पताल भर्ना भएको भनेर मलाई फोन आयो ।’

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने अहिले सिमरामा छन् । फोनमार्फत उनीहरुले छोराको स्वास्थ्यबारे जानकारी लिइरहेको बस्नेतले बताए । पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानी भने थाइल्यान्डमा छिन् । पारसलाई तेस्रोपटक हृदयघात भएको हो ।

LEAVE A REPLY