भोलि घोषणा हुने अन्तराष्ट्रिय क्रिकेट रंगशाला यस्तो बन्दै छ

0
299

चितवन १५ माघ । धुर्मुस सुन्तली फाउण्डेशनले पहारी बस्ती काभ्रे, गिरानचौर बस्ती सिन्धुपाल्चोक, मुसहर बस्ती महोत्तरी र सन्तपुर बस्ती रौतहट निर्माण सम्पन्न गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा ग¥यो । यो घोषणासँगै रंगशालाका लागि स्वदेश तथा विदेशबाट दाताहरु सहयोग गर्न तयार भए । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेपनि कहिले र कहाँ निर्माण गर्ने भन्ने टुङ्गो लागेको थिएन । प्रतीक्षाको यो घडी सकिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुर महानगरमा बन्ने भएको छ ।

Advertisements

फाउण्डेशनको टोली क्रिकेट रंगशाला बनाउने ठाउँको खोजी गर्न देश दैडाहामा निस्कियो । फाउण्डेशनको टोलीले काठमाडौँको गोदावारी, रुपन्देहीको सैनामैना, भरतपुरको प्रस्तावित रंगशाला, हेटौंडा लगायतका ठाउँमा अवलोकन ग¥यो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले रंगशालालाई मान्यता दिनुपर्ने भएकाले पूर्वाधारको दृष्टिकोणले यी ठाउँमध्ये एउटा छनौट गर्नु पर्ने बाध्यता थियो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने ठाउँमा विमानस्थलको सुविधा, बास बस्नका लागि ठूला होटल, सुरक्षा, हावापानी लगायतका कुरामा ध्यान दिनु पर्ने थियो ।

फाउण्डेशनले चितवनमा रंगशाला बनाउन सकारात्मक त देखियो तर भरतपुर वडा नं. २० को रंगशाला बनाउने जग्गाको लम्बाई मिले पनि चौडाई पुगेन । भरतपुर महानगरपालिका र कृषि तथा वन विज्ञान विश्वविद्यालयको २०७५ साल भदौ २६ गतेको बैठकले धुर्मुस सुन्तली फाउण्डेशनलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा रंगशालाको लागि जग्गा सट्टाभर्नामा जग्गा खोज्न सुरु ग¥यो । महानगरपालिकाले त्रिविको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्वामित्वमा रही भोगचल गर्दै आएको जग्गामा रंगशाला निर्माण गर्ने जग्गा सट्टाभर्नाको प्रस्ताव ग¥यो । कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको जग्गा त्रिभुवन विश्वविद्यालयले हक हस्तान्तरण गरेको थिएन । त्रिविले भरतपुर महानगरपालिकालाई उक्त जग्गा दिएमात्र क्रिकेट रंगशालाका लागि जग्गा उपलब्ध हुन्थ्यो ।

निरन्तर छलफलपछि रंगशाला निर्माणका लागि २० बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराउने गरी भरतपुर महानगर, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिविबीच २०७५ असोज १९ गतेका दिन त्रिपक्षीय सम्झौता भयो । उक्त सम्झौता मा रंगशाला निर्माणको लागि जग्गा, लगानी र स्रोतको खोजी भरतपुर महानगरपालिकाले गर्नुपर्ने उल्लेख छ । अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको नेतृत्व भरतपुर महानगरपालिकाले लिई स्वदेशी, विदेशी, सरकारी तथा गैरसरकारी, निजी क्षेत्रसँग सहयोगका लागि पहल गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । रंगशाला निर्माणका लागि भोलि (बुधबार) राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । अबको ६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य सुरु गर्ने बताइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दुई बर्षभित्र तयार गरी भरतपुर महानगरपालिकालाई फाउण्डेशनले हस्तान्तरण गर्ने सहमति भएको छ । रंगशाला निर्माण कार्य सम्पन्न गर्न तीन अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उक्त जग्गामा अन्तर्राष्ट्रिय स्तरको ३ वटा रंगशाला निर्माण गर्नेछ । ‘हामी एकदमै आतुर छौं’ कट्टेलले भन्नुभयो, ‘अबको ६ महिनाभित्रै रंगशालाको शिलान्यास गर्ने गरी काम अघि बढाएका छौं । सम्झौताको मितिबाट ६ महिनामा डीपीआर तयार हुन्छ ।’

LEAVE A REPLY