सरकारको गतिविधिले लोकतन्त्र खतरामाः काँग्रेस नेता आचार्य

0
310

चितवन, माघ १९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवंम पूर्व मन्त्री महेश आचार्यले सरकारको गतिविधिले लोकतन्त्र जोखिममा पर्दै गईरहेको औल्याएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज (शनिबार) गरेको संस्थाका संस्थापकहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले जनताको प्रतिनिधित्व गर्दै पटक–पटक अनशन बस्न बाध्य गोविन्द केसीसंग राज्यले संवाद गर्न नखोज्नु नै लोकतन्त्र खतराको संकेत रहेको बताए । उनले नागरिक समाजका अभियन्तासंग पनि संवाद गर्न नपर्ने मनोविज्ञानमा राज्य पुगेकोले प्रेसमा रहेका व्यक्तिहरु सचेत रहनु पर्ने बताए । नेता आचार्यले भने–“कम्युनिष्ट सरकार संवादको राजनीति भन्दा मुठभेदको राजनीति तर्फ अग्रसर हुनु, कसैसंग परामर्श गर्नुपर्दै भन्ने बहुमतको दम्भ देखाउनुले जोखिम बढ्न थालेको छ ।” उनले सरकारले प्रेसमाथि आक्रमण सुरु गरि सकेको भन्दै यसतर्फ संचारजगत सचेत हुनुपर्ने बताए ।

Advertisements

नेता आचार्यले दुई तिहाईले देशमा स्थिरता ल्याउछ भन्ने भ्रम रहेको भन्दै राज्यमा स्थिरता ल्याउन बहुमत मात्र प्रयाप्त नभई विधिको शासन प्रतिको प्रतिवद्धता नै सबैभन्दा ठूलो कुरा भएको बताए । उनले संविधान राम्रो बनेपनि कार्यान्वयन गर्ने चरणमा बाटो बिराएमा समस्या सिर्जना हुने बताए ।

कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व सांसद रामकृष्ण घिमिरेले सरकारले दुई तिहाईको दम्भ देखाएको भन्दै सबैले खबरदारी गर्नुपर्ने बताए । उनीहरुले प्रेसमाथि सरकारले अंकुश लगाउन खोजेको भन्दै पत्रकारहरु सचेत हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नकुल अर्याल, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रेस युनियन चितवनका संस्थापकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । ।

LEAVE A REPLY