संस्थापकहरुलाई प्रेस युनियन चितवनको सम्मान

0
417

चितवन, माघ १९ । नेपाल प्रेस युनियन चितवन शाखाले जिल्ला शाखाका संस्थापकहरुलाई सम्मान गरेको छ । आज (शनिबार) भरतपुरमा एक कार्यक्रमकाबीच संस्थापक पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको हो ।

Advertisements

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवंम पूर्व मन्त्री महेश आचार्यले दोसल्ला र सम्मान पत्रले उनीहरुलाई सम्मान गरे । कार्यक्रममा संस्थापक अध्यक्ष विश्वनाथ अधिकारी अस्वस्थताका कारण अनुपस्थित थिए भने संस्थापक सचिव वेदप्रसाद खरेल, कोषाध्यक्ष काशीराम अधिकारी, सदस्यहरु कृष्ण भण्डारी ‘भावुक’ विष्णु ढकाल, राजुबहादुर खनाललाई सम्मान गरिएको थियो । वि।सं।२०४९ सालमा चितवनमा प्रेस युनियन गठन गरिएको थियो ।

संस्थापक अध्यक्ष अधिकारी मष्तिष्कघातले काठमाडौंमा उपचार गराई रहेका छन् । उनको उपचारका लागि प्रेस युनियन चितवनले सहयोग गर्ने समेत घोषणा गरेको छ । संस्थालाई जन्म दिएर यहाँसम्मको बाटो देखाएकोले संस्थापकहरुलाई सम्झना स्वरुप सम्मान गरिएको युनियनका अध्यक्ष अनिल ढकालले बताए । “जसले संस्थालाई जन्म दियो उहाँहरुलाई कसरी बिर्सौ, नयाँ पीढिले पनि थाहा पाउने गरी सम्मान गरेका हौं”–अध्यक्ष ढकालले भने ।

हालसालै भएको अधिवेशनले ढकाल अध्यक्षमा निर्वाचित भएका थिए । ढकाल नेतृत्वको प्रेस युनियनले विभिन्न रचनात्मक कार्यहरु गर्दै आईरहेको छ । प्रेस युनियनले पत्रकार निकट संघसंगठन मध्येकै पहिलो आफ्नो भवन चितवनमा निर्माण गरेको छ । अध्यक्ष नारायण अधिकारीको नेतृत्वले भरतपुर–११ स्थित बसेनीमा मैयाँदेवि सूचना केन्द्रको रुपमा भवन निर्माण गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै संस्थापक सचिव वेदप्रसाद खरेलले लामोसमय पछि प्रेस युनियनले सम्झिएकोमा खुशी व्यक्त गरे । संस्था स्थापनाको क्षण सम्झदै खरेलले भने–“मिसन पत्रकारिता गर्दै हामीले संस्था जन्मायौं, त्यही संस्थाबाट नेपाल पत्रकार महासंघमा लगातार युनियनका साथीहरुलाई अध्यक्ष बनाउन सफल भयौं ।” खरेलले पछिल्लो समय पत्रकार महासंघ चितवन शाखामा युनियनले नेतृत्व गर्न नसकेको प्रति चिन्ता जनाउँदै सबै एक ढिक्का भएर अघि बढ्न सुझाव दिए ।

यस्तै संस्थापक सदस्य कृष्ण भण्डारीले पनि प्रेस युनियन यहाँसम्म आईपुगेको खुशी व्यक्त गर्दै संगठनलाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व सांसद रामकृष्ण घिमिरे, भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नकुल अर्याल, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । युनियनका उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रम प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY