विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा

0
253

चितवन, १९ माघ । पवित्र तीर्थस्थल देवघाटधाममा रहेको महेश सन्यास आश्रम आफ्नो रजत महोत्सव कार्यक्रम अन्तर्गत विविध कार्यक्रम गरिरहेको छ । रजत महोत्सवकै अवसरमा आगामी माघ २२ देखि फागुन २ गतेसम्म सञ्चालन हुने विराट ज्ञान महायज्ञको उद्घाटन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी देवघाट आउने भएकी छिन् । नेपालमा आजसम्म कहीँ कतै पनि नभएको अभूतपूर्व महायज्ञमा एक सय आठ जना बटुकहरुले एकै स्वरमा श्रीमद्भागवत वाचन गर्ने तथा महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरीले प्रवचन दिने बताइएको छ । माघ २२ गते राष्ट्रपति भण्डारीले महायज्ञ सहित आश्रमले निर्माण गरेको नयाँ भवनको समेत उद्घाटन गर्नेछिन् ।

Advertisements

कक्षा ६ देखि आचार्य (स्नातकोत्तर) तहसम्म अध्यापन हुने आश्रमले करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण गरेको ४२ कोठे शैक्षिक भवन निर्माण गरेको हो । महायज्ञका लागि देशभरीबाट भक्तजनहरु आउन सुरु भएको उल्लेख गर्दै दैनिक १० हजार जनालाई देवघाटमा व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाइएको आश्रमका प्राचार्य डाक्टर गुरुप्रसाद सुवेदील बताए । सो महायज्ञलाई सफल पार्नका लागि आश्रमका पीठाधीश १००८ ूस्वामी रमणानन्द गिरीको मूल संयोजनमा एक हजार आठ सदस्यीय समिति गठन गरिएको छ ।

त्यस्तै, ६० वटा उपसमिति निर्माण गरिएको उल्लेख गर्दै सुवेदीले महायज्ञमा उखुको रसद्वारा भगवान शिवको अभिषेक गरिने बताए । शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा १००८ स्वामी रमणानन्द गिरीले विधिको पूर्ण पालना गर्दै हुने महायज्ञमा भक्तजनहरुको सुरक्षालाई प्रविधिबाट निगरानी गरिने बताए । महायज्ञको प्रचार प्रसारका लागि माघ २० गते नारायणगढमा वृहत शोभा यात्रा निकालिने प्रचार प्रसार संयोजक टंकनाथ पौडेलले बताए । महायज्ञको ९९ प्रतिशत नयारी सकिएको उल्लेख गर्दै आइतबारसम्ममा सबै तयारी पूरा हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY