नेपाली क्रिकेट टिमलाई बधाईको ओइरो

0
200

काठमाडौँ, २० माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली क्रिकेटमा नयाँ इतिहास रचेर नेपालीलाई खुशी दिएकामा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विशेष धन्यवादसहित बधाई दिनुभएको छ ।

Advertisements

उपराष्ट्रपतिले आज एक शुभकामना सन्देश दिनुहुँदै नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का तथा टिमका सदस्यप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गर्नुभएको हो । उहाँले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेर इतिहास बनाएकामा खुशी व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले प्रतियोगिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा नै कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने रोहितकुमार पौडेल र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने सन्दीप जोरालगायत खेलाडीलाई बधाई तथा धन्यवादसमेत दिनुभएको छ ।

उहाँले सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको उल्लेख गर्नुहुँदै नेपालले छिट्टै एकदिवसीय र टि–२० विश्वकप खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले ले क्रिकेटलगायत खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ । क्रिकेटमा प्राप्त उपलब्धि र यसबाट प्राप्त खुशीलाई नेपाली क्रिकेट र समग्र खेलकूदको विकासमा रुपान्तरण गर्न सबैलाई अपिल गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

टी–२० सिरिज विजेता टोलीलाई नेकपा अध्यक्ष दाहालको बधाई
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिनुभएको छ । अध्यक्ष दाहालले नेपाली टोलीले भर्खरै युएइमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा युएइलाई हराउँदै ऐतिहासिक जित हासिल गरेलगत्तै बधाई दिनुभएको हो । अध्यक्ष दाहालले खेलाडीलाई बधाई ज्ञापन गर्दे विश्वस्तरीय प्रतिष्पर्धामा नेपाली खेलाडीको एकपछि अर्को जितले सम्पूर्ण नेपालीमा उत्साह र उमङ्ग छाएको उल्लेख गर्नुभएको छ । अध्यक्ष दाहालले आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्नुभएको छ । रासस

LEAVE A REPLY