देवघाटधाममा धार्मिक पर्यटनको उच्च सम्भावना : राष्ट्रपति भण्डारी

0
223

चितवन २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधाममा धार्मिक पर्यटनको उच्च सम्भावना रहेको बताउनुभएको छ । भण्डारीले देवघाटधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकसीत गर्नुपर्ने बताउनु भयो । देवघाटधाम स्थित महेश सन्यास आश्रमको आयोजनामा आजदेखि शुरु भएको विराट ज्ञानमहायज्ञको समुद्घाटन उहाले धार्मिक पर्यटनको सम्भावनालाई प्रवद्दन गर्नुपर्नेमा जोड दिनु भयो । 
संस्कृत गुरुकुलमले मौलिक संस्कृति प्रवद्र्धनमा भुमिका खेलेको बताउदैं राष्ट्रपति भण्डारीले संस्कृत शिक्षा प्रति युवाहरुको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यस क्षेत्रको विकासमा धर्मगुरु तथा विद्धानहरुले खेलेको भुमिकाको पनि उहाँले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगरले सरकार र नागरिकको संयुक्त प्रयासमा देवघाटलाई धार्मिक पर्यटनको हवको रुपमा विकसीत गर्नुपर्ने वताउनुभयो । सोही क्षेत्रका साँसद किसान श्रेष्ठले संसदीय विकास कोषवाट देवघाटको विकासका लागी रु ७५ लाख बजेट ब्यवस्था गरेको जानकारी दिनुभयो । यसले वाटो निर्माणमा मद्दत पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा साँसद कृष्णभक्त पोखरेल पनि अतिथी रहनुभएको थियो ।
एक भव्य धार्मिक समारोहका विच राष्ट्रपति भण्डारीले आज महायज्ञको समुद्घाटन गर्नुभएको हो । सो क्रममा आश्रमको नवनिर्मित भवनको पनि उद्घाटन गर्नुभएको छ ।
महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा प्रमुख कथा वाचकका रुपमा आश्रमका पिठाधीश १००८ स्वामी रमणानन्द गिरि रहनुभएको छ । महायज्ञमा १०८ श्रीमद्भागवत पाठपारायण गरिनेछ । महायज्ञमा चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्ष्यहवन गरिने महायज्ञ मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताउनुभयो ।
सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म अहिले ३०० जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । यसअघि गुरुकूलले विसं २०६५ मा पहिलोपटक विराट ज्ञान महायज्ञको आयोजना गरेको थियो ।

LEAVE A REPLY