तनहुँमा पूँजीगत खर्च १५ प्रतिशत !

0
211

दमौली, २३ माघ । तनहुँ जिल्लाका लागि आर्थिक वर्ष २०७५÷७६ मा पूँजीगततर्फ विनियोजित रकममध्ये छ महीनामा १५।४६ प्रतिशत मात्रै खर्च भएको छ । पूँजीगततर्फ विनियोजित रु एक अर्ब २४ करोड ६७ लाख २७ हजारमध्ये पुस मसान्तसम्म रु १९ करोड २७ लाख ९ हजार ८१० मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

Advertisements

करोडौँ बजेट विनियोजन भएका कार्यालयले भौतिक प्रगति गर्न नसक्दा बजेट खर्च हुन नसकेको कोष नियन्त्रक विष्णुहरि वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार चालूतर्फ रु आठ अर्ब ७ करोड ९० लाख ८५ हजार ५०० बजेट विनियोजन भएकामा रु तीन अर्ब १९ करोड १२ लाख ९८ हजार ५६९ खर्च भएको छ । जुन रकम ३९।५० प्रतिशत हो ।

कार्यालयले पुस मसान्तसम्म जिल्लाका दश स्थानीय तहलाई रु एक अर्ब ७१ करोड ४५ लाख ५३ हजार २२२ निकासा गरेको छ । छ महीनाको अवधिमा भानु नगरपालिकालाई रु २६ करोड २६ लाख १४ हजार ३५०, भिमाद नगरपालिकालाई रु १६ करोड ९९ लाख ४५ हजार ४७५, व्यास नगरपालिकालाई रु ३६ करोड ७३ लाख ९१ हजार ५९० र शुक्लागण्डकी नगरपालिकालाई रु २२ करोड ३४ लाख ७४ हजार १४८ निकासा भएको छ ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिकालाई रु नौ करोड ७७ लाख ६८ हजार २, रिसिङ गाउँपालिकालाई रु १२ करोड ७९ लाख ६२ हजार २०५, घिरिङ गाउँपालिकालाई रु ११ करोड ९७ लाख १७ हजार ५८७, देवघाट गाउँपालिकालाई रु १० करोड ५५ लाख १६ हजार, म्याग्दे गाउँपालिकालाई रु १२ करोड ३६ लाख ५८ हजार ५४० र बन्दीपुर गाउँपालिकालाई रु ११ करोड ६५ लाख ५ हजार ३२५ निकासा भएको कोष नियन्त्रक वाग्लेले जानकारी दिनुभयो ।

प्रदेश सरकारअन्तर्गत जिल्लामा स्थापना भएका कार्यालयको पूँजीगत खर्च ४।४१ प्रतिशत मात्रै रहेको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालय स्थापना हुन ढिलाइ भएकाले कतिपय कार्यालयले पूँजीगततर्फको बजेट खर्च नै गरेका छैनन् ।

ती कार्यालयमा पूँजीगततर्फ रु ४३ करोड ८० लाख ६७ हजार विनियोजन भए पनि रु एक करोड ९३ लाख ५५ हजार ३५७ मात्रै खर्च भएको छ । प्रदेश सरकारअन्तर्गत तनहुँमा घरेलु तथा साना उद्योग विकास समिति, डिभिजन वन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, प्रजनन् पिँढी बीजकोया स्रोत केन्द्र, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, शिक्षा तालीम केन्द्र र दमौली अस्पताल रहेका छन् ।

यसमध्ये प्रजनन् पिँढी बीजकोया स्रोत केन्द्र, शिक्षा तालीम केन्द्र र दमौली अस्पताललाई पूँजीगततर्फ बजेट विनियोजन भएको छैन । पूँजीगततर्फ बजेट विनियोजन भएकामध्ये जलस्रोत तथा सिँचाइ विकास डिभिजन र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले मात्रै पूँजीगततर्फको बजेट खर्च गरेको कोष नियन्त्रक कार्यालयले जनाएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले छ महीनाको अवधिमा रु ३० लाख ३० हजार ५९६ खर्च गरेको छ । कार्यालयलाई पूँजीगततर्फ रु १९ करोड ४६ लाख ६३ हजार विनियोजन भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले छ महीनाको अवधिमा रु एक करोड ६३ लाख २४ हजार ७६१ खर्च गरेको छ । कार्यालयलाई पूँजीगततर्फ रु २२ करोड १९ लाख ६५ हजार विनियोजन भएको छ ।

त्यसैगरी घरेलु तथा साना उद्योग विकास समितिलाई पूँजीगततर्फ रु ६३ लाख ३९ हजार, डिभिजन वन कार्यालयलाई रु ६५ लाख, भू तथा जलाधार व्यवस्थापन कार्यालयलाई रु ५० लाख, कृषि ज्ञान केन्द्रलाई रु २२ लाख, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई रु ११ लाख, यातायात व्यवस्था सेवा कार्यालयलाई रु तीन लाख विनियोजन भएको छ । प्रदेश सरकारले ढिलो गरी मात्रै कार्यालय स्थापना गरेकाले प्रदेशअन्तर्गतका कार्यालयको पूँजीगत खर्च नदेखिएको वाग्लेले जानकारी दिनुभयो । रासस

LEAVE A REPLY