अर्किड स्कूलका विद्यार्थीहरुको ‘नमूना संयुक्त राष्ट्रसंघ’

0
31

चितवन २८ माघ । अर्किड स्कूलमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुले ‘अर्किड मुन’ अर्थात् ‘नमूना संयुक्त राष्ट्रसंघ’ को बेजोड प्रस्तुति दिएका छन्। विद्यालको आठौं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम चितवनका विद्यालयहरु मध्ये संभवत पहिलो हो। संयुक्त राष्ट्रसंघमा सदस्य राष्ट्रहरुले विभिन्न परिषदमा रहेर जसरी विश्वमा व्याप्त समस्या/चुनौतीहरु समाधानका निम्ति प्रकृयाबद्ध रुपमा महासभा सञ्चालन गर्छन्, त्यसरी नै संयुक्त राष्ट्रसंघको उक्त नमूना अभ्यासलाई नै ‘मुन’ अर्थात् ‘नमूना संयुक्त राष्ट्रसंघ’ भनिन्छ। 

विद्यालय तथा कलेजका विद्यार्थी र युवाबीच लोकप्रिय रहेको यस ‘नमूना संयुक्त राष्ट्रसंघ’ को अभ्यास विश्वका अधिकांश देशहरुमा प्रचलित छ। यसबाट विद्यार्थीहरुको वक्तृत्व कला, आत्मविश्वास तथा समस्या समाधान कलाको विकास साथै समग्र रुपमा व्यक्तित्व विकास हुन्छ।
दुइवटा महासमितिमा विभाजित विद्यार्थीहरुले अब्बल प्रस्तुति दिएका छन्। संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम र संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगमा रहेका विद्यार्थीहरु मध्ये प्राञ्जल देवकोटा र इच्छा के. सी. ले ‘उत्कृष्ट वक्ता पुरस्कार’ द्वारा पुरस्कृत भएका थिए।

दीक्षा शर्मा र सशांक चौधरीद्वारा अध्यक्षता गरिएको दुइवटै परिषद्को उक्त कार्यक्रमको सहजीकरण तथा सञ्चालन शिक्षकद्वय देव प्रसाद शर्मा र प्रतीक्षा श्रेष्ठले गरेका थिए। सञ्चालक समिति सदस्य श्री बाबुराम खनालको आतिथ्यता रहेको उक्त कार्यक्रममा अधिकांश अभिभावकहरुको अवलोकन भएको थियो। विद्यालयले सहभागी विद्यार्थीहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरेको छ।

LEAVE A REPLY