ऋण नलिएको व्यक्ति कहिल्यै धनी हुन सक्दैन ः पुर्व अर्थमन्त्री पाण्डे

0
321

शिव शर्मा चितवन, २८ माघ । पुर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले ऋण नलिएको व्यक्ति कहिल्यै धनी हुन नसक्ने बताएका छन् । रेष्टुरेन्ट एण्ड वार एसोसियन नेपाल (रेवान) सौराहाको आयोजनामा आजबाट सौराहामा सुरु भएको १३ औं सौराहा फुड फेष्टिवलको उद्घाटन गर्दै पाण्डेले ऋण लिएर भएपनि अब लगानी गरेर हरेक नागरिक आत्मनिर्भर बन्ने पर्ने धारणा राखे । सरकारले हरेक ठाउमा पूर्वाधार निर्माण गरि बिकास गर्ने तर त्यो क्षेत्रमा ब्यापार स्वयम् जनताले गर्नुपर्ने उनको भनाइ छ । उनले रत्ननगर नगरपालिकामा पन्ध्र सय देखि पच्चीस सय क्षमताको सिटि हल निर्माणको प्रक्रिया द्रुत गतिमा अगाडि बढाउन पहल गर्ने समेत आस्वाशन दिए । उनले भने ‘सिटिहलमा अन्तरास्ट्रिय सम्मेलन गरेर बिश्वका उच्च पदस्थ अधिकारीलाई सौराहा देखाउनु पर्छ । सौराहा प्रकृतिको अनुपम उपहार हो, यहाँको प्राकृतिक सम्पदा,रहन सहन र परम्परा बिश्वका लागि उदाहरण बन्नु पर्छ ।’

Advertisements

सौराहाको उत्तर देखि पश्चिम सम्म वाढी नियन्त्रण गर्ने स्थायी भौतिक संरचना बनाइने उनको योजना छ । ‘लोथर देखि सौराहा सम्म राप्ति किनारमा कंक्रिड ड्याम बनाउनु पर्छ । शक्तिखोर हुदै सौराहा सम्म कयर खोलाको किनारलाइ व्यवस्थित पर्खाल निर्माण गर्नुपर्छ ।’ उनले भने, ‘अव सौराहा बर्षातको समयमा डुबिरहन सक्दैन, पर्दैन । यसका लागि तटबन्धनको काम सुरु हुन्छ ।’ करिव ४ बर्षमा तटबन्धन निर्माण गरिसक्ने गरि नारायणी तटबन्धन आयोजनाले सर्वेक्षण गरिसकेको छ । उनका अनुसार २ अर्व ३६ करोड लागतमा निर्माण सम्पन्न हुन सक्ने सर्वेको अनुमान छ ।

उनले सहरी विकास मन्त्रालयले पूर्वी चितवनका ४ नगरपालिकामा एकीकृत सहरी बिकास आयोजनाको रुपमा अगाडि बढाउने बताए । पाण्डेले सार्वजनिक जग्गा खोजि गरेर सार्वजनिक हितका निम्ति प्रयोग गर्न कसैले रोक्नु नहुने प्रति सचेत गराए ।

सोहि क्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सौराहा पर्यटनको ब्राण्ड बनिसकेकाले यसलाई पर्यटनको जोन बनाउनु पर्ने बताए । कुल पर्यटकको पचास प्रतिशत पर्यटक चितवनमा भित्र्याउन सबै पक्षले प्रयास गर्नुपर्ने रत्ननगर नगरका नगरप्रमुख नारायण वनले बताए ।

भारतीय महावाणिज्य दुत रमेश चर्तुवेदिले चितवन अन्तराष्ट्रिय पर्यटकीय गन्तव्य भएको बताए । सौराहाको विकासको लागि भारतीय सरकारले साथ दिने र त्यसमा रेवान सौराहाले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

प्रणय दिवस अर्थात् ‘भ्यालेनटाइन डे’को अवसरमा सौराहाको सिसवार खेलमैदानमा सुरु भएको १३ औ सौराहा फुड फेष्टिवल आन्तरिक तथा बाह्य पर्यटकलाइ सौराहा भित्र्याउन कोशेढुंगा साबित हुने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको विश्वास छ । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको बिशेषता” भन्ने मूल नारा साथ सौराहालाई महोत्सव मय बनाउन यसले भूमिका खेल्ने गिरीको भनाइ छ ।

टिकटबाट प्राप्त रकमको पच्चीस प्रतिशत रकम सिसुवार खेल मैदानको विकासको लागि खर्च गरिने फुड फेष्टिवलका संयोजक ध्रुब गिरीले बताए । ‘सौराहाको सरसफाइको लागि पांच प्रतिशत रकम उपलब्ध गराई दश प्रतिशत विपन्न बर्गका बालबालिकाको शैक्षिक उन्नयनका निम्ति शैक्षिक कोष खडा गरीने छ । आय स्रोतबाट केहि रकम उज्यालो सौराहालाइ निरन्तरता दिन खर्च गरिने छ ।’ उनले भने ।

प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेको अवसरमा रेवान सौराहाले आयोजना गरेको महोत्सव सुरु हुनु पुर्व बृहत र्याली निकालिएको थियो । राप्ति ड्याम हुदै गैडा चोक–हात्तीचोक, चरा चोक हुदै फेष्टिवल स्थल सिसवार खेल मैदानमा आइपुगेको थियो । र्यालीमा करिव तीनहजार सहभागी भएका झाँकी व्यवस्थापन सहितिका संयोजक एवं रेवान पुर्व अध्यक्ष सुवास चन्द्र गौतमले जनाए । विभिन्न सास्कृतिक झाँकी, थारु, कुमाल, बोटे लगाएतका जातीय पहिचान झल्कने भेषभुषा, बाजागाजा सहित उद्घाटन शोभायात्रा भएको हो । सौराहाको पर्यटकिय गतिविधिलाइ चलायमान बनाई आन्तरिक तथा बाह्य पर्यटकलाई सौराहा भित्र्याउन कार्यक्रम आयोजना गरिएको हो ।

रेवान सौराहाको आयोजनामा जारी फुड फेष्टिवलमा रेवान महिला समूह,क्षेत्रिय होटल संघ नेपाल चितवन र युनाइटेड हात्ती संचालन सहकारी सह–आयोजक हुन् । नेपाल पर्यटन बोर्ड, प्रदेश स्तरिय पर्यटन मन्त्रालय र संरक्षण तथा पर्यापर्यटन प्रवद्दन समिति बाघमाराले फेष्टिवलको प्रवद्दन गरेका छन् । रेस्टुरेन्टका कर्मचारी बीच वेटर रेस प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, नगर स्तरिय भलिवल प्रतियोगिता लगाएतका प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन ।

फुड फेष्टिवलमा डेढ करोड देखि २ करोडको हाराहारीमा आर्थिक कारोवार हुने आयोजकको दावी छ । ५ दिन सम्म चल्ने महोत्सवमा दैनिक १५ हजार दर्शक आउने अपेक्षा गरिएको संयोजक गिरीले बताए । महोत्सव परिसर भित्र ५ बिशेष प्रदर्शनी सहित ५० वटा खानाको स्टल छन ।

LEAVE A REPLY