देखासिकीमै हराउन थाले थारु समुदायको वैवाहिक मौलिकता

0
319

कञ्चनपुर, ३ फागुन ।थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै हराउन थालेको छ ।

Advertisements

कञ्चनपुरका थारु समुदायले अरु समुदायको देखासिकीमै दाइजो प्रथालाई अँगाल्न थालेका छन् । केही वर्षयतादेखि थारु समुदायले अन्य समुदायको देखासिकीमै छोरीलाई दाइजो अनिवार्यरुपमा दिन थालेका हुन् ।

बेहुलालाई हातघुवाइ भनेर एक थान लोटा र एक थान थालीबाहेक दाइजो नदिने थारु समुदायले हाल अरु समुदायको विवाहको सिको गर्दै सोफा, टेबुल, पलङ, कुर्सी, साइकल, मोटरसाइकल, टिभी, फ्रिजलगायतका सामग्री दाइजोमा दिन थालेका हुन् ।

अन्य समुदायको देखासिकीमै दाइजो प्रथाले थारु संस्कृतिमा जरो गाड्न थालेपछि यस समुदायको अगुवाले चिन्ता व्यक्त गर्न थालिएको छ । थारु अगुवा दानसिंह दहितले देखासिकीमै दाइजोको लेखाजोखा हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

परम्परागतरुपमा चल्दै आएको ‘झाँगा’ प्रथा जसअन्तर्गत छोरी पक्षबाट अन्न, नगद लिने चलन वर्षांै पहिले हटे पनि हाल दाइजो प्रथाले प्रश्रय पाउन थालको थारु बुढापाकाको भनाइ छ । थारु समुदायलाई प्रजातान्त्रिक अभ्यास भएको समुदायका रुपमा पनि चिनिन्छ ।

दुलही बनाउन मदिराका बोतल साटासाट गरेर सम्बन्ध स्थापित गरेर दुलहा र दुलही पक्षका व्यक्तिले गाउँको वडघरलाई विवाहका लागि सल्लाह लिने चलन थारु समुदायमा विद्यमान रहेको छ । बेहुली पक्षका व्यक्तिले सम्बन्ध पक्का भएको खुसियालीमा बेहुलाको घरमा गएर भोज खाने गरिन्थ्यो ।

जसलाई ‘ठोकौनी’ खाने भन्ने गरिएको स्थानीयवासी फुलराम चौधरीले बताउनुभयो । मासको पीठोबाट चुन्नीवरिया नामक पकवान, भेडा सुँगुरको मासुसँगै भात पकाएर जन्तीलाई खुवाइने गरिन्थ्यो तर आधुनिकताको प्रवेशसँगै पुराना चलनसमेत हट्दै गएको र बजारबाट कुक मगाएर बजारीया खाना खुवाइनाले खर्च धान्नै नसक्ने गरी बढेको थारु वीरबहादुर चौधरीले बताउनुभयो ।

विवाहका लागि चुनिने सरुवा र भन्सरियाले बेहुलालाई सजाउने चलन रहेको थारु समुदायमा पाँचदेखि आठ हातको बेहुलालाई पघरी पहि¥याउने, चौबन्दी, जामा र टोपी लगाउने गरिन्थ्यो भने हाल कोट, पाइन्ट र टाइको प्रचलन बढेको छ ।

पुरानो विवाहको पहिरन थोरै पूँजीमा विपन्न वर्गले सहजै खरीद गरी विवाह गर्न सक्दथ्यो तर आधुतिकताका नाममा थारु युवाले अरुको संस्कृति अँगाल्दा विवाह झन्झटिलो बोझिलो र खर्चिलो भएको थारु अगुवाको ठम्याइ छ ।

बेहुलीलाई ल्याङ्गा, चोली, फरिया र परम्परागत गहना गटैया, खिर्की, बाजु, टर्की नथिया लगायतले सजाइन्थ्यो जुन गहना र परिधान गाउँमै बनाइने भएकाले सस्तोमै बन्थे । आजका युवतीले बजारमा चलनचल्तीमा रहेको पहिरन र सुन, चाँदीका आधुनिक गहनाप्रति बढी आशक्त हँुदा नै विवाह खर्चिलो र दाइजोको भारी थपिएको थारु अधिकारकर्मी धनबहादुर कुश्मीले भन्नुभयो, “घरमै बनाइएको बेहुला बोक्ने चण्डोल र बेहुली बोक्न प्रयोग हुने डोली यातायातका साधनको उपलब्धताले प्रायः लोप भइसकेको छ ।” जन्ती बोक्ने गोरु गाडाको ठाउँमा बस र जिपले लिएका छन् ।

“देखासिकीमै आवश्यकताभन्दा बढी यातायातका साधनको विवाहमा प्रयोग हुने गरेको छ”, नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “कोभन्दा को कम भन्ने भावनाले विवाहलाई निकै खर्चिलो बनाइदिएको छ ।”

विवाहमा नाचिने छोक्रा, हरदङ्वा, सखिया र मघौटालगायतका मौलिक नाचको सट्टा आजभोलि साउण्डबक्समा र महङ्गो बैण्डबाजा र अन्य समुदायका गीतमा युवायुवती बढी झुम्मिने गरेकाले संस्कृतिप्रतिको रुचि जगाउन नसक्दा थारु मौलिकता हराउँदै गएको छ ।

पुरानो चलनअनुसार थारु समुदायमा माघ र फागुन महीनामा मात्रै गाउँका विवाहयोग्य वरबधुको एकै दिन विवाह गर्ने गरिन्थ्यो । गाउँका वडघरियाले वर्षभरिको योजनाअन्तर्गत चालू वर्ष र अर्को वर्षमा विवाह हुने युवायुवतीको सङ्ख्या यकिन गरी वर्ष दिनमा कति वटा विवाह गर्न सकिन्छ । त्यसकै आधारमा एकै दिन विवाह गर्ने मिति तय गरिन्थ्यो । यसरी विवाह गरिँदा खर्च कम लाग्ने र भोजमा सीमित व्यक्ति सहभागी हुने भएका कारण अन्न र अन्य खाद्यपदार्थ कम लाग्ने गरेकाले यस्तो विवाहलाई बढी रुचाइने गरिएको थियो ।

“थारु समुदाय प्रकृति प्रेमी र आफ्नैपनमा रम्ने जाति भएकाले मौलिक परम्परा र चलनलाई जोगाएर राख्न आधुनिक युवालाई नै संस्कृति र परम्परागत चलनप्रतिको आकर्षण बढाउन परिचालन गर्नसके मात्रै परम्परालाई निरन्तरता दिन सकिन्छ”, थारु अगुवा रेवन चौधरीले भन्नुभयो ।

राम्रा संस्कृतिको संरक्षण, कु–संस्कृति र अन्धविश्वासलाई हटाउँदै लगेर युवालाई संस्कृतिबारे अभियान नै चलाएर उत्प्रेरित गर्नसके मात्रै थारु संस्कृतिलाई बचाउन सकिने उहाँको भनाइ छ ।

थारुको आफ्नै मौलिक वेषभूषा, चलन, रहनसहन, भाषा र संस्कृति रहेको छ । घर बनाउन सिपालु, काठको कार्य गर्न, डोका नाम्लोको कार्य गर्न र अन्य कार्यमा समेत निपूण जातिका रुपमा थारु समुदायलाई चिनिन्छ ।

आफ्नै छुट्टै मौलिक संस्कृति भएकाले अरु जातजातिभन्दा यस जातिको पृथक पहिचान रहेको छ । यस जातिको संस्कृति, परम्परा जोगाउन र उत्थानमुखी कार्य गर्न राज्यपक्षबाट समेत सहयोगको खाँचो रहेको थारु अगुवाको भनाइ छ । रासस

LEAVE A REPLY