रेशमलाल श्रेष्ठको आत्मकथा `आराधना´ सार्वजनिक

0
330

चितवन, फागुन ११ । साहित्यकार रेशमलाल श्रेष्ठको आत्मकथा `आराधना´ सार्वजनिक भएको छ । शनिबार नारायणगढमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । बन्दिपुर सेवा समिति चितवनले उद्योग वाणिज्य संघ नारायणगढमा गरेको कार्यक्रममा लेखक श्रेष्ठकी धर्मपत्नी सरस्वती श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् ।

Advertisements

पुस्तकमाथी बोल्दै साहित्यकार सरस्वती रिजालले आत्मकथा प्रेरणादायी भएको बताइन् । आत्मकथाले सकारात्मक सोचाइलाई बढावा दिनेखालको हुनुपर्छ, उनले भनिन् – केही नकारात्मक प्रसङ्ग किताबमा उल्लेख गरिएका पनि रहेछन्, त्यसो नगरेको भए पनि हुन्थ्यो । कवि सुरेन्द्र अस्तफलले आराधनामा लेखिएका प्रसङ्गहरु लेखकले नढाँटिकन लेखेकोले यो सुन्दर पक्ष भएको दावी गरे । लेखकले आत्मकथामा केही पनि नढाँटीकन लेख्नु लेखकको खुबी भएको बताए । पाठकलाई सत्य कुरा जान्ने हक हुन्छ, सत्य कुरा नलुकाउनु पाठकलाई गरिएको न्याय भएको उनले बताए ।

आराधनामा साहित्यकार श्रेष्ठको सम्पूर्ण जीवनवृत्त समेटिएको छ । उनी नेपाल सरकारका निवृत्त शिक्षक हुन् । २५ वर्ष सामुदायिक स्कुलमा पढाएका उनी सेवा निवृत्त भएपछि स्मल हेभन अङ्ग्रेजी स्कुल संचालनमा ल्याएर थप शैक्षिक सेवामा अग्रसर भैरहे । मैले मोटामोटी ४५ वर्ष शैक्षिक क्षेत्रमा बिताएँ, कार्यक्रममा बोल्दै श्रेष्ठले भने- जीवनको एउटा ठुलो कालखण्ड शैक्षिक आराधनामा विताएको हुनाले यो किताबको नाम आराधना राखेको हुँ । आराधना मेरो रहरको उपज हो, यो पुस्तक मैले जानेर लेखेको होइन, उनले बताए । उनले आफ्नै जीवनलाई केलाउने क्रममा पुस्तक तयार भएको बताए । उनले परिवारलाई अहिलेसम्म पनि नभनेका जीवनका कतिपय गोप्य प्रसङ्गहरु किताबमा उल्लेख गरेको बताए ।

प्रमुख अतिथि प्रेमविनोद नन्दनले कृतिमाथी बोल्दै श्रेष्ठले आफ्नो जीवनको अधिकांश कालखण्ड शैक्षिक क्षेत्रमा दिएकोमा प्रशंसा गरे । उहाँको कृति उहाँको जीवनवृत्त त हुँदै हो, बन्दीपुर, बन्दीपुरबासी र नेवार समुदायको ऐना भएको उनले बताए । कृतिमाथी लेखक श्रेष्ठका गुरु चिजकुमार मित्र, डा। मतिप्रसाद ढकाल, के एल भूषण लगायतले पनि बोलेका थिए ।

कविता तथा गीत लेखनमा पनि श्रेष्ठको राम्रो दखल छ । माया बन्दिपुरको ( गीत संग्रह ) उनको पहिलो कृति हो । दोस्रो कृति स्वरुप आएको आराधना लाई बुकआर्ट नेपालले प्रकाशन गरेको हो ।

LEAVE A REPLY