परराष्ट्रमन्त्री जेनेभा प्रस्थान

0
181

काठमाडौं, फागुन ११ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४०औं बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै शनिबार साँझ जेनेभातर्फ प्रस्थान गरेका छन् ।

Advertisements

यही फागुन १३ गते हुने परिषदको उद्घाटनसत्रमा उनी सहभागी हुने तथा १४ गते परिषद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हाल नेपाल राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्य हो ।

मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार मानवाधिकार परिषदको बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

साथै, उनले युरोपेली आणविक अनुसन्धान संगठनको पनि भ्रमण गर्नेछन् ।

मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संगठन र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमन्डलमा संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।

उक्त प्रतिनिधिमन्डल यही फागुन १६ गते स्वदेश फर्कनेछ ।

प्रतिनिधिमन्डललाई विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रसचिव शंकरदास वैरागी तथा उक्त मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका थिए । रासस

LEAVE A REPLY