फागुनमा स्ववियु निर्वाचन नहुने

0
205

काठमाडौं, फागुन १३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुनमा नहुने भएको छ ।

Advertisements

फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भएपनि निर्धारित् समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ ।

त्रिविले फागुनमा निर्वाचन गर्ने तयारी गरेपनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो ।

वि.सं. २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत् निर्वाचन भएको थियो ।

त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचनको तयारी गर्नुपर्ने भएकाले फागुनमा नै स्ववियु निर्वाचन गर्न नसकिने बताए ।

उनले सबै विद्यार्थी संगठनलाई निर्वाचनमा सहभागी गराउने गरी चैतमा निर्वाचन गर्ने बताए ।

उनले कुनै संकायको परीक्षा नपर्नेगरी चाँडै नै कार्यतालिका सार्वजनिक गर्ने बताए ।

त्रिविले अहिले सबै डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षाको कार्यतालिका माग गरेको छ ।

‘हामीले सबै डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा छलफल गरी परीक्षाको कार्यतालिका माग गरेका छौं’–उनले भने–‘परीक्षाको कार्यतालिका हेरेर कसैको परीक्षा नपर्ने गरी हामीले निर्वाचनको कार्यातालिका प्रकाशित गर्छौं ।’

त्रिविले यसअघि सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ ।

त्रिविका आंगिक र सम्बन्धनप्राप्त गरी करिब एक हजार क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको छ ।

दुई/दुई वर्षमा गरिने निर्वाचन २०६५ यता त्रिविमा विद्यार्थी संगठनका कारणले पूर्णरूपमा हुन सकेको छैन । रासस

LEAVE A REPLY