पाकिस्तानी क्षेत्रमा हमलापछि मोदी नेतृत्वमा उच्चस्तरीय बैठक

0
249

नयाँ दिल्ली, फागुन १४ । भारतीय वायुसेनाले पाकिस्तानी क्षेत्रमा हमला गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा नयाँ दिल्लीमा उच्चस्तरीय बैठक बसेको छ । बैठकमा पाकिस्तानी क्षेत्रमा भारतीय सैन्य कारवाहीबारे छलफल भएको बताइएको छ ।

Advertisements

बैठकमा वरिष्ठ मन्त्रीहरु र राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाललगायत सहभागी थिए । हमलापछि पाकिस्तानी प्रतिक्रियाअनुसार आवश्यक रणनीति बनाउने भारतीय उच्च स्रोतलाई उद्धृत गर्दै विभिन्न संचारमाध्यमले जनाएका छन् ।

यसैबीच भारतीय विदेश सचिव विजय गोखलेले पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाले सैन्य कारवाही गरेको पुष्टि गरेका छन् । उनले पत्रकार सम्मेलन गरी भारतीय वायुसेनाले गरेको कारवाहीबारे जानकारी दिएका हुन् ।

उनले भारतीय वायुसेनाले आतंकवादीलाई निशाना बनाएर हमला गरेको दावी गरे । हमलामा सामान्य नागरिकको हताहती नहोस् भनेर निकै सावधानी अपनाइएको पनि उनले बताए । पाकिस्तानको बालाकोटमा भएको सो कारवाहीमा जैश–ए–मोहम्मद नामक आतंकवादी संगठनका कयौं सदस्य मारिएको उनले बताए । उक्त संगठनले भारतमा आतंकवादी हमला बढाउँदै लगेका कारण जवाफी कारवाही गर्न अत्यावश्यक रहेको उनको तर्क थियो ।

पाकिस्तानले भने सो हमलाका बारेमा आधिकारिक रुपमा प्रतिक्रिया जनाइसकेको छैन । स्रोतका अनुसार भारतीय वायुसेनाको विमानमाथि जवाफी कारवाहीका लागि पाकिस्तानी वायुसेनाको विमान उडेका थिए । पाकिस्तानी वायुसेनाको विमान आफ्नो पोजिसनमा आइपुग्दा भारतीय वायुसेनाको विमान कारवाही सकेर फर्किएको विभिन्न संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)

LEAVE A REPLY