शव पहिचान गर्न नसक्दा समस्या, आफन्तहरुको नमूना संकलन

0
246

काठमान्डौ १६ फागुन । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव पहिचानमा गर्न समस्या भएपछि अस्पतालले मृतकका आफन्तहरुको नमूना संकलन गरेको छ ।

Advertisements

विहीवार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागमा पोष्टमार्टमको लागि लगिएको शव पहिचानमा समस्या आएपछि आफन्तहरुको स्याम्पल पनि लिइएको पोष्टमार्टममा संलग्न एक चिकित्सकले खबरहबलाई बताए ।

उनले भने, ‘मृतकहरुको शव चिन्न सकिने अवस्था थिएन, त्यसैले शव पहिचान गर्न कठिन भएको छ, हामीले शव पहिचान गर्न मृतकका आफन्तहरुको पनि स्याम्पल लिएका छौं ।’

पोष्टमार्टमको काम जारी रहेकाले आजै बेलुका ९ बजेसम्ममा शव पहिचानको काम सकिने अस्पताल स्रोतको भनाइ छ ।

‘पोष्टमार्टमको काम चलिरहेको छ, ४ जनाको शवको परीक्षण लगभग सकिएको छ, परीक्षण गरिएका शवको आफन्तको नमूनासँग म्याच गर्न बाँकी छ, सबैको पोष्टमार्टमको काम ९ बजेसम्ममा सकिन्छ’ पोस्टमार्टममा संलग्न एक चिकित्सकले भने ।

पोष्टमार्टम पुरा भएपछि अस्पतालले सम्पूर्ण जानकारी सहितको बुलेटिन निकाल्ने जनाएको छ ।

LEAVE A REPLY