पिउने पानी सफा र शुद्ध हुनुपर्छ : सरोकारवाला

0
221

चितवन, १७ फागुन । पिउने पानीका कारण मानिसलाई विभिन्न प्रकारका रोगहरु लाग्ने भएकाले सफा र शुद्ध पानी पिउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।  भरतपुर महानगरपालिका वडा नम्बर २२ मा आज (शुक्रबार) आयोजना गरिएको गुणस्तरीय तथा स्वच्छ पिउने पानी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पानीका कारण रोगको महामारी समेत हुने भएकाले गुणस्तरीय पानी पिउनुपर्ने बताएका हुन् । कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य रामलाल महतोले भरतपुर खानेपानी व्यवस्थापन बोर्डले सबै ठाउँमा ओभरहेड नराखी पानी वितरण गर्दा उपभोक्ताहरुले दुषित पानी पिउनुपरेको बताउनुभयो । पानीको प्रेसरका कारण ठाउँठाउँमा पाइपहरु फुट्नाले उपभोक्ताले दुषित पानी पिउनुपर्ने अवस्था आएकाले यसको समाधानका लागि ओभरहेड राख्नुपर्ने महतोले बताउनुभयो । ओभरहेड निर्माण गरेर पानी वितरण गर्दा पानी खेरजाने समस्या हट्ने भएकाले प्रदेश सरकारले समेत यसतर्फ ध्यान दिएको महतोले बताउनुभयो ।

Advertisements

कार्यक्रममा भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुरका २६ हजार पाँच सय घरधुरीमा १८ वटा स्टेशनको ३० वटा बोरिङ मार्फत खानेपानी पु¥याइएको बताउनुभयो । नगरबासीलाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले महानगरका १ देखि १६ नम्बर वडा तथा वडा नम्बर २२ सम्ममा सात सय किलोमिटर पाइप बिच्छ्याइएको जानकारी दिनुभयो । सो कार्यक्रममा एलिट इन्टरप्राइजेज नेपालका खानेपानी तथा सरसफाई विज्ञ गुनेश्वर महतोले पानी र जीवन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी सदस्य सीता पुन, भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतो, वडा नम्बर १४ का अध्यक्ष ओमप्रकाश पोखरेल, भरतपुर खानेपानी व्यवस्थापन बोर्डका सदस्यहरु विश्वनाथ ओझा, भीमनारायण पौडेल, पटिहानी खानेपानी उपभोक्ता समितिका सल्लाहकार संयोजक मधुसुधन सापकोटालगायतले मन्तव्य राखेका थिए । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता पटिहानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष पीताम्बर शर्माले गरेका थिए ।

LEAVE A REPLY