‘वाइडबडी’ खरिदमा रवीन्द्र अधिकारी निर्दोष : प्रधानमन्त्री

0
239
File Photo

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रक्रियामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् ।

Advertisements

अधिकारीको निधनप्रति शोकप्रस्ताव पारित गर्न शुक्रबार नयाँबानेश्वरमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको विषय जोडेर केही तत्वले उनको बदनाम गर्न खोजेको बताए ।

‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्नँ, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको विषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बदनाम गर्न खोजे । जो सम्पूर्णरुपमा निराधार कुरा हो’– प्रधानमन्त्री ओलीले भने–‘उहाँले कुनै लोभ–लालचका लागि होइन र उहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन । त्यो वाइडबडी उहाँ मन्त्री हुनुभन्दा पहिलेको कुरा हो । तरपनि नेपाल यस्तो देश भएको छ, जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुचि भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।’

वाइडबडीकाबारेमा अधिकारीलाई आरोप लगाउनु दुःखद् भएको भन्दै उनले भने–‘मलाई दुःख लाग्छ कि उहाँजस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले, त्यस प्रकारले आरोप, लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो ।’

मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिनेगरी असाधारण काम गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

६ ओटा विमास्थलमा रात्रि उडान सन्चालन गर्ने, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको उनले स्पस्ट पारे ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर अधिकारी त्यसतर्फ गएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

‘तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिपोर्ट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर उहाँ जानुभएको थियो’–उनले भने ।

ढिलोमा तीन वर्षभित्र सो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

‘हिजो उहाँ बर्लिन, जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो’–प्रधानमन्त्री ओलीले भने–‘त्यहाँ जानुको अर्थपनि थियो कि म्यूनिख एअरपोर्टसँग ‘सिस्टर’ सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एअरपोर्ट ‘ह्यान्डिलिङ’ बनाउने, उहाँहरुसँग सहकार्य गर्ने उहाँले योजना बनाउनुभएको थियो ।’

अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताए ।

दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएकोसमेत उनले उल्लेख गरे ।

यसैगरी, दिवंगत उपसचिव युवराज दाहाल विकासलाई विभिन्न कोणबाट विष्लेषण गरेर योजना बनाउनसक्ने व्यक्ति भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

निधन भएका अन्य व्यक्तिहरु पनि आ–आफ्नो क्षेत्रका दिग्गज भएको उनले जनाए ।

नेकपा संसदीय दलको शुक्रबारको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोकप्रस्ताव पारित गरेको छ ।

यसैगरी, बैठकले मृतकका परिवारको लालन–पालनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको जनाइएको छ ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित सातजनाको निधन भएको थियो ।

LEAVE A REPLY