निवृत्तभरण विधेयकमा के छ ?

0
244

काठमाडौं, फागुन २० । प्रतिनिधिसभाले योगदानमा आधारित निवृत्तभरण व्यवस्थाका लागि बनेको ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ पारित गरेको छ ।

Advertisements

राष्ट्रसेवकलाई पूर्णरुपमा निवृत्तभरण उपलब्ध गराउने व्यवस्थाका कारण खर्चको भार धान्न नसक्ने अवस्था आएपछि सरकारले योगदानमा आधारित पेन्सनको व्यवस्था गरेको हो ।

निवृत्तभरण प्रणालीलाई योगदानमूलक बनाउने र राष्ट्रसेवककोसमेत योगदानमा आधारित निवृत्तभरण कोष स्थापना गरी राष्ट्रसेवकका लागि आवश्यक सामाजिक योजनाहरु सन्चालन गर्ने व्यवस्था विधेयकले गरेको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमा २०७५ साउन १ गतेदेखि नियुक्त हुने सबै राष्ट्रसेवकका लागि योगदानमा आधारित निवृत्तभरण योजना अनिवार्य बनाउने घोषणा गरेको थियो ।

उक्त योजना कार्यान्वयन र व्यवस्थित गरी लागू गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरेको छ ।

विधेयकले नयाँ भर्ना हुने राष्ट्रसेवक कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत रकम निवृत्तभरण कोषका लागि काटिने व्यवस्था गरेको छ ।

त्यति नै रकम सरकारले थप्ने र अवकाशपछि त्यही रकमलाई निवृत्तभरणकारुपमा दिने व्यवस्था गरेको छ ।

यो ऐन साउनदेखि भर्ना हुने कर्मचारीको हकमामात्रै लागू हुनेछ ।

सरकारी तथ्यांकअनुसार हाल वार्षिक ४० अर्बभन्दा बढी रकम पेन्सनमा नै खर्च हुन्छ ।

यसलाई निरन्तरता दिने हो भने राज्यले धान्नै नसक्ने अवस्था आउने भएपछि सरकारले नयाँ व्यवस्था लागू गरेको हो ।

विधेयकले कर्मचारीलाई पेन्सनलगायतको रकम उपलब्ध गराउन निवृत्तभरण कोष स्थापना गर्ने व्यवस्था गरेको छ ।

कोषको केन्द्रीय कार्यालय काठमाडौंमा रहेपनि आवश्यकताअनुसार प्रदेशस्तरीय कार्यालय वा शाखा कार्यालय खोल्न तथा कुनै ठाउँमा प्रतिनिधि नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ ।

विधेयकले कर्मचारी वेतलबी वा असाधारण बिदामा रहेको वा निलम्बन भएमा त्यस्तो बिदामा रहेको वा निलम्बन भएको अवधिभर कोषमा रकम जम्मा नहुने व्यवस्था गरेको छ ।

तर, त्यस्ता कर्मचारीलाई लगाइएको अभियोग प्रमाणित नभइ निलम्बन फुकुवा भएमा कार्यालयले उसले पाउने तलबवापतको रकमबाट कट्टा गरी निलम्बनमा रहेको अवधिको रकम एकमुस्ट रकम कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।

कोषमा प्रत्येक कर्मचारीका लागि छुट्टै व्यक्तिगत निवृत्तभरण खाता रहनेछ ।

कोषले मासिक तलबबाट कट्टा भइ प्राप्त भएको रकम, नेपाल सरकारबाट थप भएको रकम, त्यसकोे ब्याज र कोषले आर्जन गरेको मुनाफाको तोकिएबमोजिमको रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा गर्नेछ ।

कोषले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको रकम, ब्याज तथा मुनाफा जोडेर विवरण अद्यावधिक गर्नेछ ।

२० वर्ष सेवा अवधि पूरा गरेको कुनै कर्मचारीको निवृत्तभरणअगावै वा निवृत्तभरण लिएपछि मृत्यु भएमा निजको सगोलको पति वा पत्नीलाई कर्मचारीले पाउने निवृत्तभरण रकमको ५० प्रतिशत रकम पारिवारिक निवृत्तभरणकारुपमा दिइने व्यवस्था गरिएको छ ।

२० वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरी सेवाबाट अलग भएका कर्मचारीले कोषबाट मासिकरुपमा आजीवन निवृत्तभरण पाउनेछन् ।

कर्मचारी २० वर्ष सेवा अवधि नपुग्दै कारणवश जागिर छाडेमा व्यक्तिगत खातामा जम्मा भएको रकम, ब्याज र मुनाफासमेत एकमुस्टरुपमा निकाल्न सकिने व्यवस्था गरिएको छ ।

कुनै कर्मचारी भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएमा भने उसको मासिक तलबबाट कट्टा भएको रकम र त्यस्तो रकमबाट प्राप्त ब्याजमात्र फिर्ता पाइने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY