१६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारको मनोनयनमा

0
120

काठमाडौं, चैत १ । सामान्यतया विद्यालयमा कक्षा ‘बंक’ अर्थात् कक्षा छाडी हिँड्नु राम्रो मानिँदैन ।

तर, स्वीडेनकी १६ वर्षीया ग्रेटा थन्वर्गले कक्षा छाडी चलाएको जलवायु परिवर्तनसम्बन्धी अभियानले अहिले उनलाई नोबेल शान्ति पुरस्कारको मनोनयनमा पुर्‍याएको छ ।

जलवायु परिवर्तन र यसले पारिरहेको असरबारे जनचेतना जगाउन सन् २०१८ मा स्वीडेनकी १६ वर्षीया ग्रेटा थन्वर्गले सुरु गरेको अभियान विश्वभरि परिचित हुँदै गएको छ ।

कक्षामा पढाइ छाडेर स्वीडेनको संसद भवनअगाडि धर्ना बसी ‘सेभ आवर वर्ल्ड’ भन्दै जलवायु परिवर्तनले पृथ्वीमा पारेको असरबारे उनी बोल्न थालेकी थिइन् ।

थन्वर्गले गत डिसेम्बरमा पोल्यान्डमा आयोजित राष्ट्रसंघीय जलवायु कार्यक्रममा सम्बोधन गरेपछि उनको चर्चा विश्वभर फैलिएको हो ।

उनी आफूलाई ‘१६ वर्षीया जलवायु कार्यकर्ता’ भनेर चिनाउन रुचाउँछिन् । थन्वर्गले जलवायु परिवर्तनलाई रोक्न सबै लाग्नुपर्ने भन्दै अभियान सन्चालन गरिरहेकी छन् ।

८ वर्षको उमेरमा जलवायु परिवर्तनको असरबारे थाहा पाएको बताउने थन्वर्गले यो समस्यामा सबै जानकार हुँदा–हुँदैपनि पर्याप्त आवाज नउठेको बताउँछिन् ।

उनले गत अगस्टमा प्रत्येक शुक्रबार विद्यालय छाडी स्वीडेनको संसद भवनअगाडि जलवायु परिवर्तनलाई रोक्न आवाज उठाउन थालेकी थिइन् ।

त्यसयता लगातार अभियान सन्चालन गर्दै आएकी थन्वर्गले जलवायु परिवर्तनबारे धेरै देशहरुमा गएर आवाजसमेत उठाएकी छन् ।

उनको अभियानमा विश्वभरिका उनकै उमेरका किशोर–किशोरीहरुले स्वःस्फूर्त साथ दिँदै आएका छन् ।

यसैबीच, थन्वर्गले सन् २०१९ को मार्च १५ लाई ‘फ्राइडे फर दी फ्युचर’ र ‘भविश्यका लागि विद्यालय बन्द’ भन्ने नारासहित जलवायु परिवर्तनबारे आवाज उठाउन आह्वान गरेकी थिइन् ।

सोहीबमोजिम विश्वका १०५ भन्दा बढी देशका किशोर–किशोरीले शुक्रबार उनको अभियानमा साथ दिए ।

विद्यालय तहका किशोर–किशोरीले थन्वर्गको अभियानलाई समर्थन गर्दै जलवायु परिवर्तनकाविरुद्धमा प्रर्दशन गरेका छन् ।

नेपालका बालबालिकालेसमेत यो अभियानमा जोडिँदै जलवायु परिवर्तनको असरलाई रोक्न ललितपुरमा कार्यक्रम आयोजना गरे । विद्यार्थीहरुले जलवायु परिवर्तनलाई रोक्न नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

जलवायु परिवर्तन र यसको असरले भविश्यको पुस्ताका लागि पृथ्वी नै रहने हो कि नरहने हो भन्ने चिन्ता अहिले सबैतिर छ ।

थन्वर्गले छोरा–छोरीका लागि लगानी गरिरहेका आमा–बाबुलाई उनीहरुको सुरक्षित भविश्यका लागि जलवायु परिवर्तनको अभियानमा साथ दिन आह्वान गरिरहेकी छन् ।

विश्व चर्चित यही अभियानका कारण उनी यस वर्ष नोबेल शान्ति पुरस्कारका लागिसमेत मनोनयनमा सूचीकृत भएकी छन् । –एजेन्सीको सहयोगमा ।

LEAVE A REPLY