पाटन सङ्ग्रहालयमा पर्यटक वृद्धि

0
105

सुभानु आचार्य ललितपुर, ८ चैत । ललितपुरको पाटन सङ्ग्रहालय घुम्न आउने पर्यटकको सङ्ख्या वर्षैपिच्छे बढेको छ । विगतका पाँच आर्थिक बर्षको तुलनामा चालु आवमा सङ्ग्रहालय घुम्न आउने पर्यटकको सङ्ख्या बढ्नाको कारण त्यहाँको व्यवस्थापनमा ठूलो सुधार हो ।
आव २०७१÷०७२ मा २४ हजार १७ सर्वसाधारण नेपाली र २४ हजार ३९२ नेपाली विद्यार्थीले सङ्ग्रहालय अवलोकन गरेका थिए । त्यसैगरी ६ हजार ९९८ सार्क राष्ट्रका र १७ हजार २६३ अन्य मुलुकका गरी सो आवमा कूल ७२ हजार ६७० जनाले सङ्ग्रहालय अवलोकन गरे ।
आव २०७२÷०७३ मा १९ हजार ९०८ नेपाली आगन्तुक र १२ हजार ९६० नेपाली विद्यार्थीले सङ्ग्रहालय अवलोकन गरेका थिए । त्यसैगरी तीन हजार ५१५ सार्कका आगन्तुक र १० हजार २०० अन्य मुलुकका विदेशी गरी सो आवमा कुल ४६ हजार ५८३ जनाले सङ्ग्रहालय अवलोकन गरेको बताइएको छ । सो वर्ष अन्य वर्षका तुलनामा भूकम्पका कारण पर्यटक निकै कम भएको पाइन्छ ।
आव २०७३÷०७४ मा ४३ हजार ८५७ नेपाली आगन्तुक र २४ हजार २१९ नेपाली विद्यार्थीले सङ्ग्रहालय अवलोकन गरेका थिए । त्यसैगरी १७ हजार ११० सार्कका आगन्तुक र ९१ हजार ७१८ अन्य मुलुकका विदेशी गरी सो आवमा कुल एक लाख ७६ हजार ९०६ जनाले सङ्ग्रहालय अवलोकन गरेको सङ्ग्रहालयको तथ्याङ्कमा उल्लेख छ ।
आव २०७४÷०७५ मा ६२ हजार नौ नेपाली आगन्तुक र ३१ हजार ४१९ नेपाली विद्यार्थीले सङ्ग्रहालय अवलोकन गरेका थिए । त्यसैगरी २२ हजार ३८९ सार्कका आगन्तुक र एक लाख १६ हजार ७७७ अन्य मुलुकका विदेशी गरी सो आवमा कुल दुई लाख ३२ हजार ५९४ जनाले सङ्ग्रहालय अवलोकन गरेका जानकारी गराइएको छ ।
त्यसैगरी चालु आव २०७५÷०७६ को सात महिनाभर ३४ हजार ७०० नेपाली आगन्तुक र १७ हजार ५० नेपाली विद्यार्थीले सङ्ग्रहालय अवलोकन गरेका थिए । त्यसैगरी १४ हजार ७४९ सार्कका आगन्तुक र ७८ हजार ९४५ अन्य मुलुकका विदेशी गरी सो आवमा कूल एक लाख ४५ हजार ४४४ ले सङ्ग्रहालय अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ ।
सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले नेपाली विद्यार्थीलाई रु ३०, परिचयपत्र प्राप्त विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई रु १५, विदेशी मुलुकका अन्य आगन्तुकलाई रु एक हजार र सार्कका आगन्तुकलाई रु २५० प्रवेश शुल्क लिने गरेको बताउनुभयो ।
सन् १९९७ मा युनेस्कोले पाटनलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको हो । यहाँ गजलक्ष्मी र उमामहेश्वर मूर्ति चोरी भएर बेलायतको ब्रलिङ्गबाट फकाईएको पुरानो प्रस्तरको मूर्ति, राजा श्रीनिवास मल्लको पुरानो सिंहासन, कृष्णलीलाको चित्र, नेवारी ठ्यासफु, बगलामुखीको तोरण, चारै कुनामा मौर्य सम्राट् अशोकले निर्माण गरेको अशोक स्तूप, रुद्रवर्णाविहार र हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), पाटनका नेवारको पुरानो परम्परा ‘मतया पर्व’, सङ्ग्रहालयभित्र काष्ठकला, प्रस्तरकला र धातुकलाको बेजोड नमूना देख्न पाइन्छ ।
पाटनमा हरेक वर्ष दुई महिनाभन्दा बढी मच्छिन्द्रनाथ र मीननाथको जात्रा हुने गर्छ । पाटनमा एक मात्र जाउलाखेल सदर चिडियाघर, पाटन औद्योगिक क्षेत्र छ । गाईजात्राको शुरुआत जस्तो विशेष कार्यक्रम हुने ६७ वर्षीय मदन अमात्यले जानकारी दिनुभयो ।
विसं २०७३ असोजमा पाटन दरबार सङ्ग्रहालय र ललितपुर महानगरपालिकाबीच एकद्वार पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समिति गठन भएदेखि सङ्ग्रहालयबाट उठेको रकम ७५ प्रतिशत महानगरपालिका, १५ प्रतिशत सङ्ग्रहालय तथा पाँच पाँच प्रतिशत प्रशासन र मर्मतसम्भारमा छुट्ट्याइएको छ । हरेक हप्ताको एक पटक उक्त रकम सङ्कलन गरी लेखा शाखामा पठाउने गरिएको ललितपुर महानगरपालिका पर्यटन प्रवद्र्धन शाखाका वरिष्ठ अधिकृत विमलकेशरी अमात्यले बताउनुभयो । रासस

LEAVE A REPLY