आर्थिक अनुशासन ध्वस्त, बेरुजुले सिमा नाघ्यो

0
116

काठमाडौं, चैत २९ । मुलुकको आर्थिक अनुशासन ध्वस्त देखिएको छ । महालेखा परीक्षक कार्यालयका अनुसार सार्वजनिक प्रशासन क्षेत्रको आर्थिक अनुशासन अराजकतातर्फ जान थालेको देखिन्छ ।

एकात्मक केन्द्रीय प्रणालीबाट संघीय संरचनामा प्रवेश गरेको नेपालको बेरुजै शैली पुरानै देखिएको मात्र होइन स्थानीय र प्रदेश तहको बेरुजु झन् बढेको छ । यो आकारको बेरुजु हिसाब गर्दा पनि कार्यालयले सबै सरकारी निकायको लेखा परीक्षण गर्न सकेको छैन ।

संघीय निकायतर्फ ५ दशमलव २९ प्रतिशत बेरुजु देखिँदा प्रदेशमा ७ दशमलव २५ प्रतिशत बेरुजु देखिएको छ । स्थानीय तहमा भने ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ ।

महालेखा परीक्षक कार्यालयका अनुसार यस वर्ष मात्रै १ खर्ब ६ अर्ब ३४ करोडभन्दा बढीको आर्थिक बेरुजु देखिएको छ । जबकी कार्यालयले ५१ खर्ब ६० अर्ब ९२ करोडको मात्रै लेखा परीक्षण गरेको हो ।

संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको गरी ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको कार्यालयले जनाएको छ ।

जसमा ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ २० खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लेखा परीक्षणबाट १ खर्ब ६ अर्ब ३४ करोड अर्थात् ५ दलशमलव २९ प्रतिशत बेरुजु देखिएको हो ।

७ प्रदेशमा २ खर्ब ६२ करोडको लेखापरीक्षणबाट १९ करोड ५१ लाख रुपैयाँ अर्थात् ७ दशमलव २५ प्रतिशत बेरुजु देखिन्छ भने ७ सय ४७ स्थानीय तहको ५ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ बराबरको लेखापरीक्षणबाट २४ अर्ब १४ करोड अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै सार्वजनिक संस्था, जिल्ला समन्वय समिति र अन्य समितिको २५ खर्ब ७७ अर्ब ९५ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ । त्यसबाहेक ३० संगठित संस्थाको ४१ आर्थिक वर्षको लेखापरीक्षणका लागि परामर्श उपलब्ध गराएबमोजिम ७ खर्ब ३९ अर्ब ८० करोडको लेखापरीक्षणसमेत गरी यस वर्ष ५९ खर्ब ७२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको कार्यालयले जनाएको हो ।

गत वर्षको बाँकी बेरुजु २ खर्ब ९० अर्ब ५२ करोडमा समायोजन र फस्र्यौट गरिएकोमा अंक घटाई यो वर्ष थप भएको १ खर्ब ४१ अर्ब ५ करोडसमेत गरी ३ खर्ब ७७ अर्ब ४८ करोड बराबर बेरुजु फस्र्यौट हुन बाँकी रहेको छ ।

यस वर्ष लेखापरीक्षण तथा सम्परीक्षणबाट ९ अर्ब ७० करोड रुपैयाँ बराबर असुल भएको छ । यो वर्ष ५४ अर्ब ६५ करोड बेरुजु फस्र्यौट तथा सम्परीक्षण गरिएको पनि कार्यालयले जनाएको छ ।

बेरुजुको हिसाब समेटिएको ५६ औं वार्षिक प्रतिवेदन महालेखा परीक्षक कार्यालयले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाई सार्वजनिक पनि गरेको छ ।

LEAVE A REPLY