क्रिकेट विश्वकप : अस्ट्रेलियाको फराकिलो जित , बोल्टको ह्याट्रिक- स्टार्कको ५ विकेट

0
118

लण्डन । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता अस्ट्रलियाले सानदार जित हात पारेको छ । गत विश्वकपको उपविजेता न्युजिल्याण्डलाई ८६ रनले हराउँदै अस्ट्रलियाले सातौ जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाई २४३ रनको योगफल बनाएको थियो । २४४ रनको समान्य लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४३.४ ओभरमा सबै विकेट गुमाई १५७ रन मात्रै बनाउन सक्यो ।

यस खेलका दुवै पालीमा बलर हाबी भए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । २१.३ ओभरमा ९२ बनाउँदा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । अस्ट्रेलियाका लागि उस्मान खावाजा र सातौं नम्बरमा क्रिजमा आएका एलेक्स केरीले छैटौं विकेटका लागि १०७ रनको साझेदारी गरी अस्ट्रेलियाको इनिङ उकासेका थिए ।

खावाजाले ५ चौकासहित १२९ बलमा ८८ रन बनाउँदा, केरीले ११ चौकाकासाथ ७२ बलमा ७१ रनको योगदान गरे ।

पाट कुम्निसले २३ र मार्कुस स्टुनिसले २१ रन जोडे । अघिल्ला खेलमा उत्कृष्ट ब्याटिङ गरेका डेभिड वार्नर १६ र कप्तान आरोन फिन्च ८ बनाएर आउट भए ।

न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ४ विकेट लिँदा लोकिए फर्गुसन र जेम्स निशमले २–२ विकेट लिए । बोल्टले अम्तिम ओभरमा लगातार तीन विकेट लिई ह्राट्रिक गर्न सफल भए ।

२४४ रनको सामान्य लक्ष्य पाएको न्युजिल्याडले पनि खराब ब्याटिङ गर्‍यो । न्युजिल्याडका कुनै ब्याट्सम्यानले अर्धशतकसम्मको स्कोर बनाउन सकेनन् । कप्तान केन विलियमसनले सर्वाधिक ४० रन बनाए । रोस टेलरले ३० र मार्टिन गुप्टिलले २० रन बनाए ।

न्युजिल्याण्डका लागि अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क घातक बने । ९.४ ओभर बलिङ गरेका उनले एक मेडनसहित २६ रन दिएर ५ विकेट लिए । यस विश्वकपमा सर्वाधिक विकेट लिनेको सूचीमा पहिलो नम्बरमा रहेका स्टार्कले ८ खेल खेल्दा २४ विकेट लिइसकेका छन् । दोस्रो स्थानमा ७ खेलबाट १७ विकेट लिएका न्युजिल्याण्डका लोकिए फर्गुसन रहेका छन् ।

८ खेलबाट १४ अंक बनाएको अस्ट्रेलिया १४ अंकसहित शीर्ष स्थानमा कायम छ । ६ खेलबाट ११ अंक रहेको भारत दोस्रो, ८ खेलबाट ११ नै अंक रहेको न्युजिल्याण्ड तेस्रो र समान खेलबाट ९ अंक बनाएको पाकिस्तान चौथो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिका र न्युजिल्याण्डले इङ्ल्याडको सामना गर्नेछन्।

LEAVE A REPLY