कांग्रेसको देशव्यापी दोश्रो चरणको जागरण अभियान सुरु, सरकार भष्ट्राचारमा लिप्त ः नेतृ श्रेष्ठ

0
58

शिव शर्मा भरतपुर २४ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपी कोइरालाको १ सय ६ औ जन्मजयन्तीको अवसरमा देशव्यापी रुपमा दोश्रो चरणको जागरण अभियान सुरु गरेको छ । अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासन लगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् ।

यसै बीच चितवनको क्षेत्र न ३ (ख)को आयोजनामा पनि जागरण अभियानको भव्य सुरुवात भएको छ । भरतपुरको जगतपुरमा रहेको वेलहट्टा हरियाली सामुदायिक वनको परिसरमा वृक्षारोपण गर्दै कार्यक्रमको सुरुवात भएको हो । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार आज वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रिय प्रतिनिधि एवं कांग्रेस नेतृ धनलक्ष्मी श्रेष्ठले पार्टीको सांगठनिक सुधार गर्न नेता कार्यकर्ताले आ–आफ्नो जिम्मेवारी बहन गर्न सक्नु पर्ने बताइन । पछिल्लो समय नेपाली कांग्रेस प्रति देखिएको जनताको सद्भावलाई थप मजबुत बनाउदै जनताको आवस्यकता र भावनासंग साक्षात्कार गर्नु पर्ने उनको भनाइ छ । “नेपाली कांग्रेसले बिगतमा आफ्नो नेतृत्वको सरकारमा धेरै राम्रा कामको सुरुवात गरेको छ । कम्युनिष्ट सरकार सुरु भएको २ बर्षमा सरकारले जनताको अपेक्षाको सम्बोधन गर्न सकेको छैन ।” उनले भनिन, “सरकारले समृद्दीको गफ दिएर भष्ट्राचार, विसंगति र अलोकतान्त्रिक चरित्र देखाइरहेको छ ।” सरकारले भष्ट्राचारको नियन्त्रण गर्न नसकेको उनको आरोप छ । उनले तिन तहका सरकारले आपसी समन्वयमा जनताको हितमा काम गर्नुपर्ने बताइन ।

त्यस्तै नेपाली कांग्रेसका चितवन जिल्ला कार्यसमितिका कोषाध्यक्ष शंकर कंडेलले पार्टीको आन्तरिक संगठनलाई बलियो बनाउनु पर्ने बताए । जसका लागि १५ दिन सम्म चल्ने दोस्रो चरणको जनजागरण अभियानले महत्वपुर्ण भूमिका खेल्ने उनको बिश्वास छ । बर्तमान सरकार भष्ट्राचारमा लिप्त भएको उनको भनाइ छ । सरकार गठन भएको २ बर्ष भइ सक्दा सरकारले अपेक्षाकृत काम केहिपनि गर्न नसकेको उनको तर्क छ ।

“देशमा समृद्दीको नारा दिइरहने सरकार काण्डै काण्डमा रुमलिएको छ ।” उनले भने, “सरकार अपराध न्यूनीकरण गर्नमा पूर्ण रुपमा चुकेको छ । सरकार अपराधी संरक्षणमा केन्द्रित छ ।” कार्यक्रममा कांग्रेस नेता साजन महतो, नेतृ सबिता बराल, लाल बहादुर दवाडी लगाएतले बोलेका थिए । दोस्रो चरणको अभियानबाट मुख्य रुपमा पार्टीको सांगठनिक सुधार र सरकारविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने लक्ष्य लिइएको छ । दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा अभियान केन्द्रित गरिएको छ ।

जसका लागि ७७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधि र जिल्ला प्रतिनिधि खटाइ आगामी असोज ७ गते सम्मका लागि विभिन्न कार्यक्रम सुरु भएका छन् । अभियान आगामी असोज ७ गते सकिनेछ ।

NO COMMENTS

LEAVE A REPLY