बाँके सभापती माथी भएको आक्रमणले सरकारको सुरक्षा प्रणाली उदाङ्ग भयो ः नेतृ श्रेष्ठ

0
78

शिव शर्मा, भरतपुर २७ भदौ । केन्द्र तहमा राजनीति गर्ने नेतृत्वले गर्ने भुलका कारण नेपाली कांग्रेसलाई ठुलो क्षती हुने गरेको सरोकारवालाहरुले बताएका छन् । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवन क्षेत्र न ३ (ख) मा पर्ने शुक्रनगरमा आज (शुक्रवार) आयोजना गरिएको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ता हरुले नेपाली कांग्रेसका नेताहरुको अपरिपक्क निर्णय र त्रुटिले कांग्रेसलाई अहिलेको स्थितीमा पुर्याएको आरोप लगाए । “बर्षौ सम्म नेपाली कांग्रेस भनेर लागियो, भोट हाल्ने बेला अर्को पार्टीको उम्मेद्वारलाई भोट हाल्ने ह्विप जारी गर्छन ।” नेपाली कांग्रेस भरतपुर वडा न २४ का वडा सभापती इन्द्र लामाले दुखेसो पोख्दै भने, “कार्यकर्ताको जागरण भन्दा नेता जागरुक हुनु पर्छ, नेता जहिल्यै गल्ती गर्ने कार्यकर्ता निराश भईरहनु पर्ने ? अव नेतृत्वले आत्मालोचना गर्नुपर्छ ।”

नेपाली कांग्रेस भरतपुर वडा नं २४ र २५ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा कांग्रेसमा गुटबन्धीले स्वच्छ प्रतिस्प्रधा हराउदै गएको भरतपुर वडा न २५ का क्षेत्रीय प्रतिनिधि विश्राम महतोले बताए । माथिल्लो तहका नेता बीचमा राम्रो सम्बन्ध भए सतहका कार्यकर्ता आफै मिल्ने उनको भनाइ छ । उनका अनुसार नेतृत्व क्रियाशील सदस्यता वितरणमा गम्भीर हुनुपर्छ ।

कार्यक्रममा जिल्ला प्रतिनिधी एंव चितवन जिल्ला कार्यसमितिका कोषाध्यक्ष शंकर कंडेलले कार्यकर्तामा आपसी सद्भावको वातावरण सृजना गर्न सक्नु पर्ने बताए । उनले वर्तमान सरकारले काण्डै काण्ड मच्याएको टिप्पणी गरे । “कम्युनिस्ट सरकारले राष्ट्रलाइ अपाङ्ग जस्तो बनायो, अव अन्तराष्ट्रिय रुपमा असफल राष्ट्रको सुचिमा सुचिकृत हुन मात्र बाँकी छ ।” कंडेलले भने, “सरकारको गलत काम र कदम प्रति जनता खरो उत्रन सक्नु पर्छ ।” सरकार प्रति जनता र प्रतिपक्षीको कुनै बिश्वास नभएको उनको भनाइ छ ।

केन्द्रिय प्रतिनिधि धनलक्ष्मी श्रेष्ठले पछिल्लो समय नेपाली कांग्रेस प्रति देखिएको जनताको सद्भावलाई थप मजबुत बनाउदै जनताको आवस्यकता र भावनासंग साक्षात्कार गर्नु पर्ने बताइन । नेतृत्व अव पनि सहि बाटोमा नहिडे अवस्था गम्भीर हुन सक्ने उनको बुझाई छ ।

बाँकेमा बाँके सभापती किरण कोइराला माथि भएको आक्रमणले सरकारको सुरक्षा प्रणाली उदाङ्ग भएको बताइन ।

“नेपाली कांग्रेसले बिगतमा आफ्नो नेतृत्वको सरकारमा धेरै राम्रा कामको सुरुवात गरेको छ । कम्युनिष्ट सरकार सुरु भएको २ बर्षमा सरकारले जनताको अपेक्षाको सम्बोधन गर्न सकेको छैन ।” उनले भनिन, “सरकारले समृद्दीको गफ दिएर भष्ट्राचार, विसंगति र अलोकतान्त्रिक चरित्र देखाइरहेको छ ।” सरकारले भष्ट्राचारको नियन्त्रण गर्न नसकेको उनको आरोप छ । उनले तिन तहका सरकारले आपसी समन्वयमा जनताको हितमा काम गर्नुपर्ने बताइन ।

कार्यक्रममा कांग्रेस नेतृ सबिता बराल, लाल बहादुर दवाडी लगाएतले बोलेका थिए । दोस्रो चरणको अभियानबाट मुख्य रुपमा पार्टीको सांगठनिक सुधार र सरकारविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने लक्ष्य लिइएको छ । दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा अभियान केन्द्रित गरिएको छ । जसका लागि ७७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधि र जिल्ला प्रतिनिधि खटाइ आगामी असोज ७ गते सम्मका लागि विभिन्न कार्यक्रम सुरु भएका छन् ।

LEAVE A REPLY