दोस्रो जागरण अभियानमा चितवनमा विभिन्न कार्यक्रम जारी

0
61

चितवन २७ भदौ । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवनको राप्ती नगरपालिका र कालिका नगरपालिकामा अन्तरक्रिया कार्यक्रम भएको छ । राप्ति नगरपालिका को वडा न ७,८, ९ र कालिकाको १, ६, ७, ८ न वडामा नगरस्तरीय अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि नवराज महतले नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान नेता तथा कार्यकर्ताले आफ्नो जिम्मेवारी बोध गर्नु पर्ने बताए । उनले देशको परिवर्तनमा नेपाली कांग्रेस अनवरत खटिएकाले अहिले कम्युनिस्ट सरकारले त्यसलाई कुल्चन खोजेको आरोप लगाए । नेकपा नेतृत्वको सरकारले लोकतान्त्रिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रतालाई निरन्तर बेवास्ता गरिरहेको टिप्पणी गरे ।

त्यस्तै कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले परिवर्तनको संबाहक नेपाली कांग्रेसले अव जन अपेक्षाका सवालमा सडक र सदनमा आवाज उठाउने बताए । उनका अनुसार बर्तमान सरकार गफ दिनमात्र केन्द्रित रहेको छ ।

अन्तरक्रियामा नेपाली कांग्रेस जिल्ला सचिव उत्तम जोशीले कांग्रेस बलियो बन्न पछिल्लो समय नेपाली कांग्रेस प्रति देखिएको जनताको सद्भावलाइ थप मजबुत बनाउदै जनताको आवस्यकता र भावनासंग साक्षात्कार गर्नु पर्ने बताए ।

अन्तरक्रियामा नेपाली कांग्रेसका जिल्ला स्तरका नेता, पार्टीका अगुवा, भातृ संगठनका पदाधिकारी र कार्यकर्ताको बाक्लो उपस्थिति थियो । दोस्रो चरणको अभियानबाट मुख्य रुपमा पार्टीको सांगठनिक सुधार र सरकारविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने लक्ष्य लिइएको छ । दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा अभियान केन्द्रित गरिएको छ । जसका लागि ७७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधि र जिल्ला प्रतिनिधि खटाइ आगामी असोज ७ गते सम्मका लागि विभिन्न कार्यक्रम भईरहेका छन् ।

LEAVE A REPLY